आइतवार, कार्तिक ९, २०८३ | Sunday 25th October 2026

जानकी मन्दिरमा १०८ पाहुर चढाएर मनाइयो कोजाग्रत पूर्णिमा

  • प्रकाशित मिति : आइतवार, कार्तिक ९, २०८३



  • जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ।

    यस अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान् राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको रतौलीबाट १०८ ओटा पाहुर (सनेस-कोसेली) ल्याइएको छ।

    महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौलीबाट ल्याइएको पाहुर समर्पण गरी जानकी मन्दिरमा शास्त्रीय विधिअनुसार सीतारामको चुमाओन अनुष्ठान सम्पन्न गरिएको हो। विगत एक सय ४२ वर्षदेखि निरन्तर चल्दै आएको यस परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ।

    रतौली निवासी स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको परिवारले पुस्तौँदेखि कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिरमा पाहुर पठाउँदै आएको छ।

    यस वर्ष ल्याइएको पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, मौसमी तरकारी तथा भगवान् राम र माता जानकीका लागि विशेष वस्त्र समावेश छन्।

    ठाकुर परिवारका सदस्य नवीन ठाकुरले एक सय ४२ वर्षदेखि चलिआएको पारिवारिक तथा सांस्कृतिक परम्परालाई कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। पुर्खाबाट हस्तान्तरण हुँदै आएको सांस्कृतिक जिम्मेवारीलाई नयाँ पुस्ताले पनि गौरवका साथ निरन्तरता दिइरहेको उनले बताए।

    कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिर परिसरमा विशेष भजनकीर्तन तथा मिथिलाको मौलिक हास्यपरिहास कार्यक्रमसमेत आयोजना गरिएको छ।

    जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार हरेक वर्ष यस दिन उत्सवको उल्लास बढाउन परम्परागत हास्यव्यङ्ग्य र सांस्कृतिक गायनको व्यवस्था गरिन्छ। यस पर्वले मन्दिरमा मात्र नभई समग्र मिथिलाञ्चलवासीमा उत्साह थप्ने गरेको उनले बताए।

    धार्मिक अनुष्ठानका अतिरिक्त कोजाग्रत पूर्णिमा मिथिलाका नवविवाहित दम्पतीका लागि पनि विशेष सामाजिक उत्सव हो। यस दिन बेहुलाको घरमा ससुराली पक्षबाट विशेष पाहुर पठाउने परम्परा छ।

    ससुरालीबाट आएको पाहुरका सामग्री प्रयोग गरी ज्येष्ठ महिलाले मन्त्रोच्चारणसहित बेहुलाको चुमाओन गरेर दूबो र अक्षतासहित आशीर्वाद दिने चलन छ।

    अनुष्ठानपछि परिवार तथा आफन्तलाई भोज खुवाउने र गाउँभरि पान तथा मखान वितरण गरी आपसमा खुसी साटासाट गर्ने परम्परासमेत मिथिलाञ्चलमा प्रचलित छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, चालक घाइते
    जानकी मन्दिरमा १०८ पाहुर चढाएर मनाइयो कोजाग्रत पूर्णिमा
    युक्रेनले स्टारलिङ्कको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको मस्कको आरोप
    अमेरिकाले आजै इरानमाथि आक्रमण गर्न सक्ने ट्रम्पको संकेत
    कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा
    सुनको भाउ एकैदिन एघार हजार सात सय रुपैयाले घट्यो
    इरानमाथि पुनः घातक सैन्य हमला हुनसक्ने ट्रम्पको चेतावनी
    असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
    ‘एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो’
    धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरालाई पनि चोट

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij