बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बस दुर्घटनामा एकजनाको मृत्यु, अर्का एकजना घाइते

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १०, २०७४



  • तनहुँ, फागुन १० । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् ।

    दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

    दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी उनले दिए ।

    सोही दुर्घटनामा परी घाइते सोलुखुम्बु जिल्ला घर भई हाल शुक्लागण्डकी नपा–४ सेराटार बस्ने २४ वर्षीया गर्भवती नितु मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    खैरेनीटारबाट पोखरा जाँदै गरेको ना ५ ख १९८० नम्बरको मिनीबस उक्त ठाउँमा सडक छेउमा दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij