प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०७४
काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याईएको छ।
काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा शुक्रबार बिहान रंगी विरंगी कपडाहरुको ध्वजा सहितको तीन खण्डे चीर ठड्याईएको हो। चीर ठड्याएसंगै शुक्रबारदेखि राजधानी लगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ ।
शुक्रबार बिहान हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ११ बजेर ५७ मिनेटको शुभसाईतमा ३२ फुट उचाईको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी होलीचीर ठड्याईएको हो। चीर ठड्याईसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । समाजसेवी राजन महर्जनले त्रेता युगदेखि नै चलिआएको होली चीरको विशेष महत्व रहेको बताए।
प्रत्येक बर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका टुक्रा –टुक्रा सहित सजाईएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमा सम्म होली पर्व मनाउने गरिन्छ। यस बर्ष काठमाण्डौ लगायत पहाडी जिल्लाहरुमा फागुन १७ गते र तराई मधेसका जिल्लाहरुमा फागुन १८ गते होली पर्व परेको छ । होलीमा सरकारले सार्वजनिक विदा दिने गर्दछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij