बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मुम्बईमा २७ लाख चोरीका आरोपित युवा नेपालमा समातिए

  • प्रकाशित मिति : शनिबार, चैत्र १७, २०७४



  • सुर्खेत, चैत १६ । भारतको मुम्बई, थाने भन्ने स्थानबाट रु २७ लाख चोरेको आरोपमा एक नेपाली युवालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बराह गाउँपालिका–३, तरंगा, सुर्खेतका ३० वर्षीय कर्णबहादुर शाही रहेका छन् । उनलाई सुर्खेत प्रहरीले यही चैत १३ गतेका दिन पक्राउ गरेको हो ।

    भारतीय प्रहरीले इन्टरपोलमार्फत् आरोपित शाहीलाई बुझेर सहयोग गर्न अनुरोध गरेपछि उनलाई समातिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

    ‘आरोपित शाहीले नगद र गरगहना गरी भारतीय रु २७ लाख चोरेको जानकारी गराइएको छ । तर, संस्थागत तथ्यांक त्यस्तो केही छैन’–उनले भने ।

    रुपैयाँ चोरे/नचोरेकोबारे बुझ्नका लागि शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।

    आरोपित शाहीकाबारे आवश्यक अनुसन्धान गरेर इन्टरपोलमार्फत् भारतीय प्रहरीलाई जानकारी दिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij