बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

भारतीय दूतावासको कार्यालयमा विस्फोट गराएको आरोपमा दुईजना पक्राउ

  • प्रकाशित मिति : सोमवार, बैशाख १०, २०७५



  • विराटनगर, वैशाख १० । भारतीय राजदूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा मोरङ, बेलबारी–४ का ४२ वर्षीय ‘युगेन’ भनिने उदय राई र ताप्लेजुङका ३४ वर्षीय भीम लिम्बू रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुणकुमार बिसीले घटनामा नेत्रविक्रम चन्द नेतृत्वको समूहको संलग्नता रहेको बताए ।

    उनले पक्राउ परेका राई नेकपाका मोरङ जिल्ला सेक्रेटरी रहेको जानकारी दिए । अर्का अभियुक्त सोही पार्टीको कार्यकर्ता रहेको उनको भनाइ छ ।

    वैशाख ३ गते विराटनगर १३ स्थित मलायारोडमा रहेको भारतीय राजदूतावासको सम्पर्क कार्यालयमा बेलुकी सवा ८ बजेतिर भएको विस्फोटमा कार्यालयको पछाडिको पर्खालमा क्षति पुगेको थियो ।

    यस्तै, कार्यालयछेउमै रहेको स्थानीय देवकान्त झाको घरको झ्यालका सिसाहरु फुटेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij