बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

नेपाल एयरलाइन्सको पहिलो वाइडबडी जहाज असार १५ भित्र काठमाडौं आउने

  • प्रकाशित मिति : बिहिबार, बैशाख २०, २०७५



  • नेपाल एयरलाइन्सले अर्डर गरेको एयरबस३३०–२०० वाइडबडी जहाज तयार भएको छ। फ्रान्समा रहेको एयरबसको फ्याक्ट्रीमा एसेम्बल सकिएकाे  र जुन २७ मा काठमाडौं आइपुग्ने भएको छ।

    केही समयअगाडि फ्रान्स पुगेर फर्किएको नेपाल एयरलाइन्सको टोलीले दिएको जानकारीअनुसार दोस्रो जहाजको एसेम्बल भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।

    एसेम्बल सकिएको जहाज असारको १५ गतेभित्र काठमाडौं आउने भ्रमण टोलीले जानकारी दिएपनि नेपाल एयरलाइन्सले डेलीभरी पत्र भने पाएको छैन।

    असार १५ पहिले पहिलो जहाज आएपछि साउन १५ भित्र अर्को जहाज आउने श्रेष्ठले बताए।

    रोल्सरोयस ट्रेन्ट७०० इन्जिन जडान हुने जहाजमा २७४ सिट हुनेछन् । २५६ इकनोमी क्लास हुने जहाजमा १८ बिजनेस क्लास रहनेछन्।
    २०७३ चैतमा एयरलाइन्सले अमेरिकी कम्पनी एएआर कर्पोरेशनसँग खरिद सम्झौता गरेको थियो। ०७३ कात्तिकमा विमान किन्न प्रकाशित गरेको विश्वव्यापी टेन्डरमा  एएआर कर्पोरेसनले एउटा विमानको १० करोड ४८ लाख अमेरिकी डलरको दरमा दुईवटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो।

    एयरलाइन्सले यसअघि १० अर्ब रुपैयाँ पठाइसकेको छ भने बाँकी रकम जहाज आउनुभन्दा एक हप्ता अगाडिमात्र पठाउने एयरलाइन्सले जानकारी दिएको छ।

    जहाज आएपछि एयरलाइन्सले जापानको ओसाका, दक्षिण कोरियाको इन्चोन र साउदी अरबको रियादमा उडान गर्ने जनाएको छ।

    उडानका लागि लिनुपर्ने अनुमति पाएको र त्यहाँ जिएसए नियुक्तीको काम भइरहेको एयरलाइन्सका कर्पोरेट डाइरेक्टरसमेत रहेका श्रेष्ठले बताए।

    एसेम्बलकाे क्रममा रहेकाे जहाज :एरबसकाे ट्ववीटर

    जापानमा हप्ताको चार उडान माग गरेको एयरलाइन्सले २ मात्र पाएको छ भने कोरियामा ३ र साउदी अरबमा ४ उडान गर्ने अनुमति पाएको छ।
    नयाँ जहाज आएपछि नागरिक उड्डयन प्राधिकरणबाट पुरा गर्नुपर्ने प्रक्रिया पुरा भएपछि उडान सुरु हुने श्रेष्ठले जानकारी दिए। व्यावसायिक उडान गर्नुपहिले प्राधिकरणबाट विभिन्न प्रक्रिया पुरा गर्नुपर्ने नियम रहेको छ।

    वाइडबडी जहाज उडानका लागि एयरलाइन्सले क्रू टिम पनि तयार पारिरहेको बताएको छ।

    वाइड बडी विमान उडानको लागि ६० प्रतिशत विदेशी पाइलट ल्याउने तयारीमा एयरलाइन्स रहेको छ। नेपालभित्रको जनशक्ती पर्याप्त नहुने भएकोले विदेशबाट ल्याइने एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए।

    एउटा वाइड बडी जहाज उडाउन ८ क्याप्टेन र ८ कोपाइलट चाहिन्छन्। यसमा सुरुमा ४ जना क्याप्टेन र ६ जना कोपाइलट एयरलाइन्सले नै तयार गरिरहेको छ। बाँकी विदेशबाट ल्याइने कंसाकारले जानकारी दिए।

    दोस्रो जहाज आएपछि कूल ११ जना क्याप्टेन ६ जना कोपाइलट विदेशी हुने छन्। विस्तारै एयरलाइन्सले तालिम तथा प्रशिक्षण दिएर आन्तरिक पाइलट बढाउँदै लिने कंसाकारले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij