बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सडक निर्माण विवादमा एकको मृत्यु, आँप बगैंचामा युवकको शव फेला

  • प्रकाशित मिति : आइतवार, बैशाख २३, २०७५



  • गौशाला, बैशाख २३ । महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा औरही नगरपालिका–६ बस्ने अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    गए राति ७ बजेतिर सो गाउँमा सडक बनिरहेको विषयमा विवाद परी दुई समूहबीच कुटाकुट हुँदा स्थानीयवासी लाललाबु दासको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

    प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीयवासी ६५ वर्षीय शिवशरण दास र ३२ वर्षीय इन्द्रजित दासलाई गए राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ भने उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    आँप बगैंचामा युवकको शव फेला

    यसैगरी महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा आँप बगैँचामा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार महोत्तरी गाउँपालिका–१ स्थित आँपको बगैँचामा स्थानीयवासी ३३ वर्षीय सुनिल यादवको शव झुण्डिएको अवस्थामा बरामद भएको हो ।

    तर युवक यादव आफैं झुण्डिएर मरेको वा उनको मृत्यु के कति कारणले भएको बारेमा प्रहरीले आवश्यक अनुसन्धान सुरुगरिसकेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij