बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मकालु एयरको कार्गो विमान हुम्लामा दुर्घटना

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २, २०७५



  • हुम्ला, जेठ २ । सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ वामखर्कमा दुर्घटना भएको छ ।

    हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले विमान खार्पुनाथको वामखर्कका दुर्घटना भएको पुष्टि गरे । क्षतिको विवरण भने प्राप्त भएको नभएको उनले बताए ।

    उनले उद्धारका लागि घटनास्थलतर्फ हेलिकोप्टर पठाइएको बताए ।

    विमान दुर्घटना भएको जानकारी एक स्थानीयले दिएको हुम्लास्थित सहकर्मी नृप हमालले जानकारी दिए ।

    मकालु एयरको सो विमान आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट सिमकोटको लागि उडेकोे थियो ।

    विमानमा चालक दलका दुईजना सदस्यमात्र थिए । विमान चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीले चलाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ ।

    नाइन एनएजेयु कलसाइन रहेको विमान ११ सय ७० किलो सामान बोकेर हुम्लाको सिमकोटका लागि उडेको थियो ।

    यसअघि विमान बाजुराको कर्णाली नदी किनारमा आकस्मिक अवतरण गराइएको खबर आएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij