प्रकाशित मिति : सोमवार, साउन १०, २०७३
साउन १० – विश्व एन्टी डोपिङ एजेन्सी वाडाले रुसलाई आउँदो महिना हुने रियो ओलम्पिकमा प्रतिबन्ध लगाउने पर्ने आफ्नो सिफारिस रद्द भएकोमा निराशा जनाएको छ ।
वाडाले रुसलाई रियो ओलम्पिकमा पूर्ण रुपले प्रतिबन्ध लगाउन सिफारिस गरेपनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले भने पूर्ण रुपले प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ । आइओसीले विभिन्न खेलका विश्व संगठनले नै रुसलाई ति खेलका लागि ओलम्पिकमा सहभागिता जनाउन दिने नदिने बारे निर्णय गर्ने अधिकार दिएको छ ।
आइओसीको निर्णय प्रति वाडाले असहमति व्यक्त गरेको हो । सम्बन्धित खेलका विश्व संगठनले रुसका खेलाडी डोपिङ मुक्त रहेको जनाएमा त्यो खेलमा रुसले सहभागिता जनाउन पाउने छ । ब्राजिलमा हुने रियो ओलम्पिक अगस्ट पाँचमा सुरु हुँदैछ ।
सन् २०११ देखि २०१५ सम्ममा सरकारकै सहयोगमा रुसी खेलाडीले व्यापक स्तरमा शक्ति वर्धक औषधि लिएको आरोप लाग्दै आएको छ । आइओसीले रुसको पक्षमा केही खुकुलो निर्णय गरेपनि रियो ओलम्पिकमा सहभागी हुन चाहने रुसी खेलाडीले आइओसीका कडा नियमको पार गर्नु पर्ने छ ।
ओलम्पिकमा सहभागी हुन चाहने रुसी खेलाडीको डोपिङ टेस्ट गरिने र यसमा फेल हुनेले सहभागिता जनाउन नपाउने आइओसीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij