काठमाडौँ — तत्कालिन माओवादीले अछामको सदरमुकाम मंगलसेनमा आक्रमण गरेसँगै बन्द भएको त्यहाँको विमानस्थलमा १५ वर्षपछि शुक्रबार विमान अवतरण गरेको छ ।
२०५८ साल फागुन ४ गते अछाममा आक्रमण गर्दा बम बिस्फोट गराइएसँगै ध्वस्त भएको विमानस्थलमा समिट एयरको लेट विमानले शुक्रबार टेस्ट फ्लाइट गरेको हो।
सिमिकोटबाट नेपालगन्ज फर्कँदै गरेको विमानले साफेंबगरमा टचडाउन गरेको थियो। साफेंबगरमा डेढ दशक पछि विमान अवतरण भएसँगै क्याप्टेन एडी शर्पा लगायत चालकदलका सदस्यलाई स्थानीयहरुले स्वागत गरेका थिए।
द्वन्द्वकालमा ध्वस्त भएको विमानस्थल पनर्निर्माणका लागि नागरिक उड्डयन प्रधिकरणले ०७३ चैतमा ११ करोड १७ लाखको ठेक्का दिएको थियो।
प्राधिकरणका इन्जिनियर योगेन्द्र शर्माका अनुसार विमानस्थलको ९५ प्रतिशत काम सिकएको छ भने असार भित्र बाँकी ५ प्रतिशत काम पनि सकिने छ।
यो विमानस्थलको धावनमार्ग ५५० मी लामो छ। यसबाट १९ सिटे साना विमानहरुले उडान भर्न सक्ने छन्। विमानस्थल बन्द हुनु अघि त्यहाँ नेपालगन्ज, धनगढी र काठमाडौंबाट पनि उडान हुने गर्थे।
शुक्रबार गरिएको टेस्ट फ्लाइट सफल भएसँगै प्रधिकरणले चाँडै नियमित व्यावसायीक उडानका लागि सो विमानस्थल खुला गर्दै छ।
नेपालमा ५० वटा आन्तरिक विमानस्थल भएपनि बिहीबारबाट खोलिएको राजविराजको विमानस्थलसँगै ३१ वटा संचालनमा आएका छन् भने यो विमानस्थलबाट खुला भएपछि त्यसको संख्या ३२ पुग्ने छ।