बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मलेसियामा नेपाली कै कुटपिटबाट पर्वतका एक युवाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १८, २०७५



  • पर्वत, जेठ १८ । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ ।

    पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो ।

    करीब डेढ हप्ता पहिले सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिए ।

    पूर्वी नेपालबाट रोजगारीका लागि पुगेका चारजना साथीले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो ।

    मृतक क्षेत्रीको बिहीबार स्थानीय अस्पतालमा शव परीक्षण भएको छ भने शव ल्याउन अझै एक हप्ता लाग्ने भएको छ । २० महिना अघि रोजगारीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए ।

    उनका पिता भीमबहादुर क्षेत्री पनि वैदेशिक रोजगारीमा जाने आउने गरिरहेका थिए ।

    परिवारको कान्छो सन्तान गुमाउन पुगेपछि परिवार र सिंगो गाउँ नै शोकमा डुबेको छ । आमा देवी क्षेत्री अर्धचेत अवस्थामा छिन् भने गाउँलेमा समेत रुवाबासी चलेको छ । क्षेत्रीलाई कुटपिट गरी हत्या गर्ने साथी चारैजना प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij