आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४९% ले बढ्यो वाणिज्य बैङ्कको मुनाफा

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०७२/७३ मा वाणिज्य बैङ्कहरूको मुनाफा उल्लेख्य रूपमा बढेको छ । मङ्गलवारसम्म वार्षिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेका १४ ओटा वाणिज्य बैङ्कले कमाएको मुनाफाका आधारमा यस्तो विश्लेषण गरिएको हो ।

    हाल २८ वाणिज्य बैङ्क सञ्चालनमा भए पनि बाँकी १४ ओटा बैङ्कले वित्तीय विवरण प्रकाशित गरिसकेका छैनन् ।

    वित्तीय विवरण सार्वजनिक भएका १४ ओटा वाणिज्य बैङ्कहरूको खुद मुनाफा ४९ प्रतिशतले बढेको छ । ती बैङ्कले गत आवमा रू. १४ अर्ब ७० करोड खुद मुनाफा गरेका छन् ।

    अघिल्लो आवमा ती बैङ्कको मुनाफा रू. ९ अर्ब ८६ करोड थियो । गतवर्षको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण मुलुकमा असहज परिस्थिति सृजना भई गत आवमा बैङ्कहरूमा कर्जाको माग घट्नुका साथै अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएको थियो ।

    सोही कारण बैङ्कहरूको मुनाफा घट्ने आकलन गरिए पनि त्यसविपरीत बैङ्कहरूको नाफा उच्च दरले बढेको छ ।आर्थिक अभियान दैनिकमा खबर छ ।

    भूकम्प र नाकाबन्दीपछि वित्तीय क्षेत्रमा परेको प्रतिकूल प्रभाव हटाउन नेपाल राष्ट्र बैङ्कले खराब कर्जाको वर्गीकरण, कर्जाको पुनर्वर्गीकरण, पुनःसंरचना, गे्रस अवधिमा वृद्धिलगायत विभिन्न सुविधा उपलब्ध गराएको थियो ।

    त्यस्तो सुविधा बैङ्कहरूले गत चैतसम्म पाएका थिए । सोही कारणले पनि वाणिज्य बैङ्कहरूको मुनाफामा भूकम्प र नाकाबन्दीको प्रभाव नदेखिएको बैङ्करहरूले बताएका छन् ।

    गत आवमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेण्ट बैङ्कले रू. २ अर्ब ५५ करोड खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा यो बैङ्कको मुनाफा ३० प्रतिशतले बढेको छ ।

    यस्तै, ग्लोबल आईएमई बैङ्कको मुनाफा ४४ दशमलव ३६ प्रतिशतले बढेर रू. १ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो आवमा यसको मुनाफा रू. ९६ करोड ६ लाख रहेको थियो ।

    बाँकी ६ ओटा बैङ्कको मुनाफा १ अर्ब रुपैयाँ नाघेको छ भने ६ ओटा बैङ्कको मुनाफा १ अर्ब रुपैयाँभन्दा कम रहेको छ । प्रतिशतको हिसाबमा सबैभन्दा धेरै नाफा जनता बैङ्कको बढे पनि रकमका आधारमा भने कम छ । चुक्तापूँजीको तुलनामा खुद नाफा प्रभु बैङ्कको बाहेक अरू सबै बैङ्कको बढेको देखिन्छ ।

    कुल निक्षेप वृद्धिका आधारमा पनि नेपाल इन्भेष्टमेण्ट बैङ्क सबैभन्दा अघि छ । १ वर्षको अवधिमा बैङ्कको निक्षेप बढेर रू. १ खर्ब ८ अर्ब पुगेको छ । त्यस्तै, सबैभन्दा कम वृद्धि दर जनता बैङ्कको छ ।

    यसको कुल निक्षेप रू. २४ अर्ब ६ करोड रहेको छ । यसैगरी कर्जा प्रवाहको आधारमा पनि सबैभन्दा अघि नेपाल इन्भेष्टमेण्ट बैङ्क नै रहेको छ । गत असारसम्म बैङ्कले रू. ८७ अर्ब कर्जा प्रवाह गरेको छ । जनता बैङ्कले रू. २० अर्ब ४७ करोड सबैभन्दा थोरै कर्जा प्रवाह गरेको छ ।

    रकमको हिसाबमा इन्भेष्टमेण्ट बैङ्कको खुद ब्याज आम्दानी धेरै देखिए पनि प्रतिशतको आधारमा सानिमा बैङ्कको अघि छ । अघिल्लो अवको तुलनामा गत आवमा यो बैङ्कको खुद ब्याज आम्दानी ५१ दशमलव २१ प्रतिशतले बढेर रू. १ अर्ब ७२ करोड पुगेको छ । यस्तै, अन्य बैङ्कको ब्याज आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ ।

    सबैभन्दा थोरै खराब कर्जा भएको बैङ्कका रूपमा पनि सानिमा बैङ्क नै अघि छ । यो बैङ्कको खराब कर्जा कुल कर्जाको शून्य दशमलव शून्य २ प्रतिशत रहेको छ । यस्तै, प्रभु बैङ्कको खराब कर्जा सबैभन्दा धेरै ८ दशमलव ३८ प्रतिशत रहेको छ । यो राष्ट्र बैङ्कको निर्देशनभन्दा बढी हो । राष्ट्र बैङ्कको निर्देशनअनुसार वाणिज्य बैङ्कको खराब कर्जा बढीमा ५ प्रतिशत हुनुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij