प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३
वाशिडटन डिसी । अमेरिकाको भर्जिनियामा बसोबास गर्ने दुई नेपाली विद्यार्थीहरु राजीव श्रेष्ठ र गोपाल सापकोटाले एक नयाँ एपको प्रयोग गरेर मोबाइलमा सोझै रिचार्ज पैसा हालिदिन सक्ने बनाएका छन् । श्रेष्ठ तथा सापकोटा हाल डिसी महानगर क्षेत्रमा अवस्थित अमेरिकन कलेज अफ कमर्स टेक्नोलजी (एसीसीटी) मा अध्ययनरत छन् ।
हालै सार्वजनिक गरेको उक्त एप कनेक्टटुनेपाल वेव र मोबाइल दुबैबाट प्रयोग गर्न सकिनेछ । कनेक्टटुनेपालको एप एन्ड्रोइडको गुगल प्ले तथा आइओएस्को एप स्टोरबाट सर्च गरेर बिना शुल्क डाउन लोड गर्न सकिन्छ । यसको प्रयोगबाट छोटो समय मै लाखौं नेपाली लाभान्वित हुने छन् ।
यो एप चलाउन निकै सजिलो भएको र आइफोन र एन्ड्रोइड दुवैका प्रयोगकर्ताहरुले यो एपबाट भरपूर फाइदा उठाउन सक्ने गरी निकै ठूलो प्राविधिक प्रयासपछि यो बनाउन सफल भएको उनीहरुले जानकारी गराए ।
अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली अमेरिकन आइटी प्रोफेसनलहरुको नयाँ संस्था सोसाइटी अफ नेपलिज अमेरिकन आइटी इन्जिनियर्स (स्नेयी) को अन्तरक्रिया कार्यक्रममा राजीव र गोपालले यो एपको पहिलो पटक सार्वजनिक गरेका हु्न ।
एकै महिनामा ५ सय रेगुलर प्रयोगकर्ता बनेको र उनीहरुको कारोबारबाट नेपाल सरकारले ३ लाख सम्मको राजश्व पाइसकेको आंकडा पनि उनीहरुले जानकारी दिए ।
यो एपले एनटिसी, एनसेल तथा युटिएल सवै कम्पनीका मोबाइलमा विदेशबाटै सजिलै पैसा रिचार्ज गर्न सकिन्छ । नेपालमा रहेका आफन्तको मोबाइल नम्बर मात्र भए फोनको रिचार्ज गर्न सकिनेछ भने पे पाल मार्फत आफ्नो भीसा, मास्टर कार्ड तथा बैंक कार्डबाट समेत पैसा चार्ज गर्न सकिन्छ । डलर तथा पाउण्डबाट गरिएको चार्जको नेपालीमा यति हुन्छ भनेर देखाउने ब्यबस्था पनि गरिएको छ ।
यी युवाको जोडीले नेपालसँग संसारभरिका नेपालीहरुलाई जोड्ने सिलसिलामा यो पहिलो उपहार ल्याएको र आफूहरु अरु दुई ठूला र विशुद्ध नयाँ आइटी प्रोजेक्ट तयार गर्न तल्लीन रहेको बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij