प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३
कोलम्बिया । कोलम्बियाका मतदाताले अप्रत्यासित रुपमा फार्क विद्रोही र सरकारबीच भएको शान्ति सम्झौतालाई अस्वीकार गरेको छ । कोलम्बियाका जनताले सम्झौताको विपक्षमा ५०.२४ प्रतिशत मत खसालेका हुन् ।
चार वर्षको वार्तापछि गत हप्तामात्र फार्कका नेता टिमोलिओन जेमिनेज र राष्ट्रपति हुवान म्यानुएल सान्तोषबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।

राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति सान्तोषले आफूले जनताको मतलाई स्वीकार गर्ने बताउँदै अझै शान्ति हासिल गर्न प्रयास गर्ने बताए ।
उनले हालको युद्धविराम कायम राखिने बताउँदै क्युवामा रहेका फार्क नेताहरुसँग आगामी कदमबारे छलफल गर्न वार्ता टोलीलाई त्यहाँ पठाउने बताए ।
‘म हार मान्ने वाला छैन,’ उनले भने, ‘म शान्तिका लागि अन्तिम समयसम्म काम गर्नेछु ।’

यता फार्कका नेता जेमिनेजले पनि आफूहरु युद्ध अन्त्य गर्नका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
५२ वर्षदेखि युद्धमा रहेका फार्क विद्रोहीले हतियार बिसाउने निर्णय गरेका थिए ।
आलोचकहरुले भने सरकार विद्रोहीप्रति चाहिनेभन्दा बढी नरम भएको बताउँदै आएका थिए । फार्क अझै पनि अमेरिकाको आतंकवादीको सूचीमा रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij