प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३
नयाँ दिल्ली । भारत–पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल पार गरेर भारतीय सेनाले गरेको भनिएको सर्जिकल स्ट्राइकलबारे भारतकै नेताहरुले प्रश्न उठाउन थालेका छन् । यसअघि पाकिस्तानले भारतले दाबी गरेको सर्जिकल स्ट्राइक झुठो भएको बताइरहँदा पछिल्लो समय भारतीय नेताहरुले नै त्यसमाथि प्रश्न उठाएका हुन् ।
त्यस्तै, संयुक्त राष्ट्रसंघले पनि भारत–पाकिस्तानको सीमामा कुनै कारवाही नभएको बताएको छ । बिबिसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत भारतले दाबी गरेको पाकिस्तानको भूमिमा सर्जिकल स्ट्राइक भएको स्पष्ट प्रमाण नदेखेको रिर्पोट सार्वजनिक गरेको थियो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्जिकल स्ट्राइकको भिडियो देखाउन माग गरेपछि पाकिस्तानी मिडियाले उनको यस भनाईको समर्थन गरेको छ । पाकिस्तानी पत्रिका द ट्रिब्युनले एक रिर्पोट प्रकाशित गर्दै केजरीवालले एउटा महत्वपूर्ण मुद्दा उठाएको बताएको छ । त्यस्तै समा टिभीले पनि भारतीय नेताहरुले मोदीसँग जवाफ माग्न थालेको बताएको छ ।
यता, सत्तारुढ भारतीय जनता पार्टी (विजेपी) का नेताहरुले भने केजरीवालको भनाईप्रति अपत्ति प्रकट गरेका छन् । विजेपी नेता रविशंकर प्रसादले भने, ‘केजरीलालाई भारतीय सेनाको बहादुरीप्रति भरोस छ या छैन ?’
केजरीवालले भने, ‘बिजेपी किन उत्तेजित भएको ?’
विजेपीले आफूमाथि प्रश्न तेर्साएपछि केजरीवालले भने, ‘पहिला मेरो पूरा भिडियो हेर्नुहोस् । मैले प्रधानमन्त्रीलाई सल्युट गरेको छु । समर्थन गरेको छु । सेनालाई बधाई दिएको छु ।’

‘हामी सबैलाई थाहा छ कि पाकिस्तान झुटो प्रचार गर्दैछ । विश्वका सबै पत्रिकाले पनि यही भन्दैछ कि सर्जिकल स्ट्राइक भएकै छैन,’ उनले भने, ‘यस्तोमा मैले प्रधानमन्त्रीलाई पाकिस्तानको झुठो प्रचारको कडा जवाफ दिनुपर्छ भनेर अपिल गरेको हुँ । यसमा हामी उनलाई साथ दिन्छौं । यो विषयमा म कुनै राजनीति गरेको छैन । पाकिस्तानलाई जवाफ दिनुपर्छ भन्दा बिजेपी किन यति उत्तेजित भएको छ ?’
के भन्छन् कांग्रेसी नेता ?
कांग्रेस नेता संजय निरुपमले भने, ‘हरेक भारतीय पाकिस्तानको विरुद्धमा सर्जिकल स्ट्राइक होस् भन्ने चाहन्छ । तर, फर्जी होइन । जसरी अहिलेको विजेपी सरकार आफ्नो फाइदाको लागि भन्दैछ ।’
त्यस्तै अर्का नेता दिग्विजय सिंहले भने, ‘हामीलाई सेनामाथि पूर्ण भरोसा छ । मोदी गुजराजको मुख्य मन्त्री हुँदा देखि हामी माथि आक्रमण गर्ने गरेका थिए । तर, हामीले पहिलो दिननै उनलाई समर्थन गर्यौं । पाकिस्तान विश्वभरको पत्रकारलाई त्यहाँ लगेर सर्जिकल स्ट्राइक नभएको भन्दैछ । संयुक्त राष्ट्रसंघ पनि त्यही भन्दैछ । हाम्रो सेनाको विश्वसनियतामाथि प्रश्न उठ्दैछ भने सरकारले यसको प्रमाण दिनुपर्छ ।
पाकिस्तानी मिडिया के भन्छ ?
द एक्सप्रेस ट्रिब्युनले लेखेको छ, ‘अन्तर्राष्ट्रिय मिडियाले भारतको सर्जिकल स्ट्राइकमाथि प्रश्न उठाएपछि अहिले भारतमा पनि यसमाथि प्रश्न उठ्न लागेको छ । दिल्लीका मुख्यमन्त्री केजरीवालले पनि प्रधानमन्त्री मोदीसँग सर्जिकल स्ट्राइकको प्रमाण माग गरेका छन् ।’
जिओ न्युज लेख्छ, ‘भारतका नेताहरुले आफ्नो सर्जिकल स्ट्राइकको दाबीलाई झुठो भएको बताएका छन् ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij