प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३
म्यान्चेस्टर । म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लियोनेल मेस्सीले बार्सिलोना छाड्न तयार भए सिटीले उनलाई अनुबन्ध गर्न तयार रहेको बताएका छन् ।
कुनै दिन मेस्सीले बार्सिलोना छाड्न तयार भए सिटी नै उनको पहिलो गन्तव्य हुने र ग्वार्डिओलाले उनलाई मनाउन सक्ने सिटीले विश्वास लिएको छ ।
बुधबार राती बार्सिलोनासँग च्याम्पियन्स लिगको खेलअघि बार्सिलोनाका पूर्व प्रशिक्षक रहिसकेका ग्वार्डिओलाले २९ वर्षीय मेस्सी नयाँ चुनौती सामना गर्न लालायित हुन सक्ने बताए ।
‘म मेस्सीले यहीँ (बार्सिलोना)मा नै आफ्नो करियरको अन्त्य गरोस् भन्ने चाहन्छु,’ ग्वार्डिओलाले भने, ‘तर, उनी यहाँ छाडेर अन्त्य जानका लागि सोच्न पनि सक्छन् । सायद आफ्नो छोरा–छोरीले अंग्रेजी बोलोस् भन्ने पनि चाहनसक्छन् वा नयाँ अनुभव लिन पनि चाहनसक्छन् । यो हामी धेरैलाई भएको छ । सायद त्यो हुनसक्छ ।’
यसअघि स्पेनिस मिडियाले ग्वार्डिओलाले सिटीमा आएपछि बार्सिलोनाका कयौँ खेलाडीलाई क्लबमा भित्र्याउन खोजेको रिपोर्ट प्रकाशित गरेको थियो । जसलाई उनले खण्डन गरेका छन् ।
यद्यपि, उनले बार्सिलोनबाट गोलकिपर क्लाउडियो ब्राभोलाई अनुबन्ध गरिसकेका छन् । ‘म चाहन्थे मार्क आन्द्रे टेर स्टेगेन सिटी आउन् । तर, पछि ब्राभोलाई अनुबन्ध गरेँ,’ ग्वार्डिओलाले भने, ‘तर, यदी तपाइँहरुले मेस्सी, नेयमार, सुवारेज, बुस्केट, इनिएस्टाको कुरा गर्दै हुनुहुन्छ भने मैले कसैलाई फोन गरेको छैन ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij