प्रकाशित मिति : बुधबार, बैशाख ६, २०७४
नयाँदिल्ली/काठमाडौं । भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतन्त्र सुदृढीकरण र स्थायित्वका लागि भारतको सद्भाव महत्वपूर्ण रहेको बताउनुभएको छ ।पाँचदिने राजकीय यात्राका क्रममा मंगलबार राष्ट्रपति भण्डारीले समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको बेग्ला बेग्लै भेटवार्तामा नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
राष्ट्रपति मुखर्जीसँगको भेटमा दुई देशबीच भइरहेका निरन्तरका उच्चस्तरीय भ्रमणले सम्बन्धलाई अझै मजबुत बनिरहेको बारेमा विचार आदानप्रदान भएको त्यहाँस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले जानकारी दिनुभयो ।नेपाल-भारतबीच ऊर्जा, पूर्वाधार विकास, सीमापार कनेक्टिभिटी र भूकम्पपछिको पुनर्निर्माणलगायत क्षेत्रमा सहयोग विस्तार गर्नेबारे छलफल भएको प्रवक्ता ओडारीले उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारी भ्रमणको दोस्रो दिन औपचारिक कार्यक्रममा व्यस्त हुनुभयो ।

प्रत्युत्तरमा भारतीय उच्च नेतृत्वले नेपालको लोकतन्त्रको सुदृढीकरण, शान्ति, स्थिरता, विकासमा सहयोग गर्न तयार रहेको जनाउँदै सबै राजनीतिक पक्षको सहभागितामा संविधान कार्यान्वयनसँग जोडिएका मुद्दा हल हुने तथा निर्वाचन हुने अपेक्षा व्यक्त गरेको छ ।भण्डारी र मोदीबीच नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ र मजबुत बनाउने विषयमा कुराकानी भएको हो ।
भारतीय प्रधानमन्त्रीसँगको भेटमा भण्डारीले भारतले आर्थिक वृद्धि र विकासका क्षेत्रमा गरिरहेको प्रगतिप्रति मोदीलाई बधाई दिनुभयो । ‘भारतले गरिरहेको आर्थिक वृद्धि र विकासबाट हामी लाभ लिन चाहन्छौं’, राष्ट्रपतिले भन्नुभयो । छिमेकी मुलुकसँगको सम्बन्धलाई भारतले प्राथमिकतामा राखेकोमा उहाँले प्रशंसा गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदीले भारत सरकार छिमेकको प्रगति र विकासका लागि सक्दो सघाउन तयार रहेको बताउनुभयो ।
‘दक्षिण एसिया क्षेत्रले भोगिरहेका साझा विकासका चुनौती हामी आपसमा मिलेर सामना गर्न आवश्यक छ’, मोदीले भेटमा भन्नुभयो । राष्ट्रपतिले नेपालले महिला सशक्तीकरणका लागि संवैधानिक व्यवस्थामार्फत नेपालले उपलब्धि हासिल गरिरहेको बताउनुभयो । मोदीले नेपालको प्रगति र समृद्धिमा भारत सदैव सहयोगी रहेको बताउनुभयो ।
भेटका क्रममा राष्ट्रपति भण्डारीले नेपालले पनि भारतमा जस्तै लोकतन्त्र संस्थागत गर्न चाहेको भन्दै लोकतन्त्रको स्थायित्वका लागि संवैधानिक व्यवस्थाअनुरूप तीन तहको निर्वाचन गराउन लागेको उल्लेख गर्नुभएको थियो ।समावेशी संविधानमा सबैलाई समेट्ने प्रयास गरेको भन्दै राष्ट्रपति भण्डारीले नेपाललाई भारतको शुभेच्छा, सद्भाव र साथ सदैव आवश्यक रहेको बताउनुभयो ।
मंगलबार दिउँसो भारतीय उपराष्ट्रपति हमिद अन्सारी, विदेमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली तथा गुहमन्त्री राजनाथ सिंहले राष्ट्रपति भवनमा भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो ।भेटमा विदेशमन्त्री स्वराजले राष्ट्रपति भण्डारीसमक्ष भारतीय सहयोगमा नेपालमा निर्माणाधीन परियोजना छिटो सम्पन्न होस् भन्ने चाहेको बताउनुभयो ।
‘नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजना छिटो सम्पन्न हुन् भन्ने हामी चाहन्छौं । हामीले नियमित अनुगमन गरिरहेका छौं’, भारतीय विदेशमन्त्रीले भेटमा भन्नुभयो ।भारतीय विदेशमन्त्रीले नेपालसँगको सहकार्यात्मक सम्बन्धलाई भारतले उच्च महत्व दिइरहेको बताउनुभएको दूतावासका प्रवक्ता ओडारीले जानकारी दिनुभयो ।
भारतीय गृहमन्त्री सिंहले दुई देशबीच सुरक्षा क्षेत्रमा राम्रो सहकार्य रहेको बताउँदै नेपालको प्रगति र समृद्धिमा भारत सधैं सहयोगी बन्दै आएको उल्लेख गर्नुभयो ।राष्ट्रपति भण्डारीले निकट छिमेकीका रूपमा रहेका मुलुकबीचको मित्रवत् सम्बन्धको मित्रतालाई विकास तथा आर्थिक समृद्धि र पारस्परिक साझेदारीमा विस्तार गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपतिले मंगलबार नै राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलको भ्रमण गरी त्यहाँ रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो ।राजकीय भ्रमणको परम्पराअनुसार भण्डारीलाई भारतीय राष्ट्रपति भवनमा राखिएको छ ।भण्डारी मंगलबार साँझ भारतीय राष्ट्रपतिले उहाँको सम्मानमा दिनुभएको स्टेट ब्याक्वेट सहभागी हुनुभयो । मंगलबार नै राष्ट्रपतिले भारतीय उद्योगी र व्यापारीले आयोजना गरेको बिजनेस इभेन्टमा सहभागिता जनाउनुभयो । दिल्लीपछि राष्ट्रपति भण्डारी आज बुधबार गुजरात र उडिसाको भ्रमण गरी द्वारिका, सोमनाथ र पुरीस्थित मन्दिरमा पूजा-अर्चना गर्ने कार्यक्रम छ ।
पाँचदिने भारत यात्राका क्रममा सोमबार मध्याह्न नयाँदिल्ली पुग्नुभएकी भण्डारीसँग आएका परराष्ट्रमन्त्री प्रकाशशरण महत र सचिव शंकर दास बैरागी राष्ट्रपतिका औपचारिक भेटवार्ता सकिएका कारण मंगलबार स्वदेश फर्किंदै हुनुहुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij