तर वहाँहरू आउने लस एन्जलस, म बस्ने आठ सय किलोमिटर पर साक्रमेन्टो। निकै टाढा, आफ्नै गाडीमा जान पनि सात आठ घण्टा लाग्ने। चीन, जापान, र युरोपमा जस्तै द्रुतगतिको रेलसेवा हुँदो हो त त्यति टाढा जान पनि आँट्न सकिन्थ्यो तर दुरभाग्यवस त्यस्तो रेलसेवा अमेरिकामा नरादर।
मनमा के लागेको थियो भने लस एन्जलस पुगेपछि यी कलाकारहरू सान फ्रान्सिस्को पक्कै आउनेछन्। तर त्यस्तो खबर कतै सुनिएन। म अलि निराश जस्तै भएँ। तर धेरैबेर भने निरास हुनु परेन। एक्कासी एकदिन आनी चोयिङको प्रवचन बर्कले क्यालिफोर्नियामा भयो भन्ने खबरका साथसाथै कार्यक्रमको फोटोरहरु फेसबुकमा देखिन थाल्यो। अबभने मन प्रफुल्ल भयो, अब आनी चोयिङ र न्ह्यू बज्राचार्यलाई सुन्न पाइने भयो।
कन्सर्ट स्थल म बसेको शहरबाट दुई घण्टा टाढा थियो, साथै शुक्रबारे ट्राफिक जामको डर थियो। अतः अफिस छुट्न अगावै निस्कन मनासिव लागेर हाकिमसंग अघिल्लो दिन नै एकघण्टा छिटो जाने बिदा लिइसकेको थिएँ। हलको ढोका खोल्ने समय भन्दा पहिले नै कार्यक्रम स्थलमा पुगिसकेका थियौं। छिटो पुग्नुको उद्देश्य आनी चोयिङ र न्ह्यू बज्राचार्यलाई उनीहरुको फुर्सदमा भेट्नु थियो।
हलमा अन्तिम तयारी हुँदैरहेछ। सबै तयारी सकेपछि आनी र न्ह्यू दुबैजनासंग भेटभयो। समय अघि नै हलमा पुगेको फाइदै भएछ, छानिछानी सिट रोज्न पाइयो। कन्सर्ट क्यालिफोर्निया राज्य, ओकल्याण्ड शहरको फर्स्ट कङग्रेशनल चर्च मा शुरु हुँदै थियो।
आनी चोयिङको ‘युनिटि एण्ड होप युएसए टुर २०१७’ को यो दोस्रो श्रृङखला थियो। उक्त कन्सर्टको पहिलो श्रृङखला पहिले भने झैं लस एन्जलसमा जुन ३ मा सम्पन्न भैसकेको थियो भने अन्य श्रृङखलाहरु क्रमशः जुन १७ मा शियाटल, जुन १८ मा पोर्टल्याण्ड, जुन २४ मा वाशिङटन डिसि र अन्तिम कन्सर्ट जुन २५ मा बस्टनमा हुँदैथियो। यो एक महिने कार्यक्रमको मुख्य आयोजक ‘भिन्तुना इन्टरनेसनल’ ले गरेको थियो भने यसमा अन्य करिब डेढ दर्जन अरु प्रायोजक संघ सस्थाहरु सामेल थिए।
कन्सर्ट हल आकर्षक र कलात्मक देखिन्थ्यो। हलको छेउमा कलात्मक खम्बा, भित्तामा कलात्मक चित्र र त्यस्तै कलात्मक सिलिङ थियो। मंचमा अत्यन्त राम्रो ध्वनि प्रणालीको व्यवस्था गरिएको थियो। दर्शकहरूमा प्रायःजसो गोराहरु थिए भने राम्रै संख्यामा नेपालीहरूको पनि उपस्थिति देखिन्थ्यो।
हालैको एक अन्तर्वार्तामा यी कलाकारहरूले नेपालको मौलिक गीत संगीत, बुद्धको देश र समग्र देश चिनाउने कार्यक्रममा नेपालीहरूको न्यूनतम उपस्थितिमा चिन्ता व्यक्त गरेका थिए। शायद वहाँहरू कै पहलमा होला यो कन्सर्टका प्रत्येक टिकटमा नेपालीका लागि १० डलरको छुट व्यवस्था गरिएको थियो।
नुबिया टाइजेराको प्रस्तुति यति सुन्दर थियो कि आँखा अन्ततिर लग्नै मन लाग्ने थिएन। जय उत्तलको भक्ति संगीत सुनाए अर्को आकर्षणको केन्द्र थियो।
पटक पटक बुद्धको जन्मभूमि नेपाल भनेर देशलाई चिनाई रहिन् र आफू नेपालमा जन्मेकोमा गर्व गरिन् आनीले। यसै सन्दर्भमा बुद्धको उपदेशको पालनामा पनि जोड दिइन्। अरु कन्सर्ट भन्दा के कुरामा यो कन्सर्ट भिन्न थियो भने हल पूरा शान्त थियो।
केही गीतहरूको प्रस्तुति पछि आनीले आफ्ना संगीतकार साथीहरूको परिचय आदरका साथ दिइन् र आफू वहाँहरु जस्तो ठूला संगीतकारहरुसंग सांगीतिक सहयात्री हुनपाउँदा आफूलाई धन्य र भाग्यमानी सम्झेको विनम्रताका साथ व्यक्त गरिन्। तिनले ‘बटुवा हुँ बटुवा’, ‘मंगल होस्’, र ‘फूलको आँखामा’ गीत सुनाउँदा नेपाली श्रोताहरुले दिल खोलेर ताली बजाएका थिए।

