आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘छक्कापञ्जाले नराम्ररी छक्यायो’ श्याम नेपाली

  • प्रकाशित मिति : बुधबार, साउन ११, २०७४



  • ‘ए दाजु नसमाउ नारीमा… हिलो लाग्ला नाइलनको साडीमा…. ’

    केही दितयता नेपाली संगीत क्षेत्रमा यो गीत निकै चर्चामा छ। यसको चर्चासँगै सृजनाको चोरी र स्रष्टाकै अपमान गरिएको आरोपका कारण यो गीतले विवाद पनि निम्त्याएको छ।

    प्रसिद्ध सारंगीवादक एवं प्रशिक्षक श्याम नेपालीले आफ्ना हजुरबुबाले गाएको यो गीत उनकै काखमा बसेर दशकौं अघि घरमै सुनेका थिए। हजुरबुबा कान्छा मगर नेपालीको यही गीत श्यामले पनि सन् २००३ मा गायिका लोचन भट्टराईसंग गाएर यसलाई थप जिवित तुल्याउने प्रयास गरेका थिए। यो गीत ‘माछापुच्छ«े’ नामक उनको एल्बममा सुरक्षित छ।

    अहिले यही गीत कान्छाका पनाती अर्थात् श्यामका छोरा प्रिन्सले गाउने तयारी समेत हुँदै थियो। तर बिचमै अर्कैको संगीत र स्वरमा यो गीत सार्वजनिक भएपछि उनको परिवार आश्चर्यमा परेको छ।

    आफ्ना हजुरबुबाको सृजनालाई बिनाअनुमति चोरी गरेर अर्कैले नाम राखेपछि यो गीत अहिले चर्चासँगै कपिराइटदेखि सर्जककै अपमान गरिएको आरोपले विवादित बनेको छ।

    के भएको हो ?

    कान्छा मगर नेपालीको संकलन र गायनमा रहेको भनिएको गीत र फिल्म छक्कापञ्जामा परिमार्जन गरि तयार पारिएको गीत।

    अल्मोडा राना उप्रेतीले स्वर दिएको यो गीत फिल्म ‘छक्कापञ्जा दुई’ मा समावेश गरि गत शुक्रबार सार्वजनिक भएको छ। फिल्म निर्माण पक्षले यो गीत यूटुवमा राखेपछि केही दिनमै २० लाखभन्दा बढी दर्शकले हेरेका छन्।

    उप्रेतीले उक्त गीतको संगीतकार समेत आफैं रहेको दावी गर्दै आफैंले गाएपछि यसको तयारी गरिरहेका कान्छाका पनाती प्रिन्स रनभुल्लमा परेका छन्। पिन्सले केही महिनायता उक्त गीत आफुले पुनः रेकर्ड गर्ने विषयमा उप्रेतीसँग छलफल गर्दै आएका थिए। त्यसका लागि उनले उक्त गीत एरेन्जका लागि अल्मोडालाई दिएका थिए। तर प्रिन्सले गाउने भनेर कुराकानी भइरहेको गीत अल्मोडाले आफैंले गाएर फिल्ममा राखेपछि अहिले यो विवादका रुपमा आएको हो।

    ंंयस्तै फिल्मका निर्माता एवं कलाकार दिपकराज गिरीले पनि उक्त मौलिक गीतको शब्दमा आफुखुशी तोडमोड गरेको भन्दै नेपालीको परिवारले खेद व्यक्त गरेको छ। गिरीले गीतको स्थायी (मुखडा) बाहेक सबै शब्द जथाभावी परिवर्तन गरि सृजना र सर्जककै अपमान गरेको श्याम नेपालीको आरोप छ।

    यूटुवमा राखिएको गीतको भिडियोमा प्रिन्स र गिरीको गीत लेखन भनी उल्लेख छ। जबकि उक्त गीतको एक शब्दपनि प्रिन्सले नलेखेको नेपाली परिवारको भनाई छ। गीतको स्थायी हुबहु राखेर अन्य अन्तराभद्धा शब्दमा ढालेर आफ्नो हजुरबुबाको अपमान गरिएको श्यामले टिप्पणी गरे।

    सर्जक परिवारको माग के हो ?

    कान्छा मगर नेपालीको तस्विर र भिडियो रेकर्ड गर्दै फ्रान्सको पेरिसस्थित ओस्लो विश्वविद्यालयका अनुसन्धानकर्ता। तस्विर सौजन्य ः श्याम नेपाली

    कान्छाका नाति श्याम नेपालीले उक्त गीतलाई वास्तविक स्वरुपमा पुनः रेकर्ड गराएर निर्माण पक्षले फिल्ममा राखे आफु र आफ्नो परिवारको कुनै आपत्ति नहुने बताएका छन्।यसका लागि फिल्म निर्माण पक्षले आफुहरुलाई कुनै रकम समेत दिनु नपर्ने उनको भनाई छ।

    पैसाको लागि नभई सृजना र स्रष्टाको सम्मान होस् भनेर मात्रै आफुहरुले यो विषय उठाएको उनले बताए।

    ‘यो सरासर हाम्रो परिवारकै चार पुस्तादेखिको बौद्धिक सम्पतीमाथिको चोरी हो’ हाल अमेरिकाको बोस्टनमा रहेका नेपालीले भने,‘यसरी बिनाअनुमति अरुको मौलिक गीत र संगीतको खुलेआम चोरी हुनु आपत्तिको विषय हो। हामी यो छिटोभन्दा छिटो सच्चियोस् भन्ने चाहन्छौं।’

    आफ्ना हजुरबुबाको संगीत हुबहु चोरी भएको र सक्कल गीतलाई तोडमोड गरेर ध्वस्त पारिएको भन्दै उनले उक्त गीत रोक्न फिल्म निर्माण पक्षसँग आग्रह गरेको बताएका छन्। यसबारेमा आफुले फिल्म निर्माता एवं कलाकार गिरीसँग कुराकानी गरिरहेको उनले जानकारी दिए।

    ‘यो गीतका सक्कल शब्दहरु राखेर फेरि रेकर्डिङ गर्न उहाँ (गिरी) लाई भनेको छु’ उनले सुनाए,‘नत्र यसरी कसैको मौलिक सृजना र सर्जकलाई मारेर लाभको व्यापार गर्न पाइन्न। यो विषय कानूनी प्रक्रियामा समेत जाने अवस्था आउँछ।’

    गिरीले भने यसमा समय र रुपैयाँ खर्च भइसकेकाले पुनः गीत रेकर्ड गर्न नसकिने जवाफ दिएको नेपालीले सुनाए। उनकाअनुसार गिरीले उक्त गीतको संगीतकारमा अल्मोडाको नाम हटाएर यसका वास्तविक सर्जक कान्छा मगर नेपालीकै नाम राख्ने, यसको सम्पूर्ण रोयल्टी पनि कान्छाकै नाममा हुने र उनका पनाती प्रिन्सलाई यसको कभर भर्सन गाउन दिने उल्लेख गरेका छन्। नेपालीले गिरीको भनाईबाट आफुहरु झन् दुःखी भएको भन्दै लामो समय कला क्षेत्रमा लागेर स्थापित भएको निर्माण पक्षको कार्यशैली अशोभनिय लागेको बताए।

    दोषी को हो ?

    फिल्म निर्माण पक्षले आफुलाई अल्मोडाले सत्य–तथ्य लुकाएर विवादमा पारेको दावी गरेको छ। अल्मोडाले आफुलाई प्रिन्ससंग नभेटाएर सही कुरा लुकाउँदा यस्तो अवस्था आएको स्वयंम् गिरीले आफ्नो फेसबुकवाल लेखेका छन्।

    गिरीले यसको वास्तविक सर्जकबारे आफुहरुलाई जानकारी नदिई उप्रेतीले बदमासी गरेको भन्दै उप्रेतीमाथि दोष थोपरेका छन्। तर श्याम नेपालीले भने स्थापित फिल्म निर्माण कम्पनीले पुरानो गीत भन्ने जान्दा–जान्दै यसको वास्तविक सर्जकबारे नबुझी हेलचेक्क्र्याईं गरेको दावी गरेका छन्।

    यो विवाद सतहमा आएपछि पुरानो लोक गीतलाई नयाँ पुस्तामा केही रुपान्तरणसहित ल्याउन जायज मानिने आवाजहरु पनि आइरहेका छन्। यस्तो प्रचलन रहेको तर्क गर्दै केहीले यसमा कपिराइट र चोरीको आक्षेप नलाग्ने जिकिर गरेका छन्। नेपाली भने यस्ता तर्कको कडा प्रतिवाद गर्छन्।

    सांगीतिक पारिवारमा जन्मे–हुर्केका श्यामले हजुरबुबापछि बुबा, आफु अनि आफ्नो छोरासम्मको चार पुस्ता नेपाली मौलिक गीत र संगीतको क्षेत्रमा सक्रिय रहेको सुनाए। उनी अहिले अमेरिकामा रहेर नेपाली मौलिक गीत–संगीतको निरन्तर साधना र कला प्रवद्र्धनमा जुटिरहेका छन्। हाल उनी बोस्टनस्थित हिमालय हेरिटेज एण्ड कल्चरल एकेडेमीमा सारंगीका प्रशिक्षक छन्।

    उनकाअनुसार यो गीत हजुरबुबाको स्वरमा वि.सं.१९६६ सालमै रेकर्ड भएको थियो। त्यसको दुइ वर्ष अगाडि नैं उक्त गीतको संकलन र संयोजन भएको थियो। कान्छा मगर नेपालीको निधन २०६८ मा भएको हो।

    के भन्छन् दिपकराज गिरी ?

    गीतको चर्चासँगै विवाद चुलिएपछि फिल्मका निर्माता एवं कलाकार गिरीले आफुहरुले उक्त गीत चोरी नगरेको दावी गरेका छन्। उनले यसबारेमा विवाद आएपछि अहिले आफुहरुले अनुसन्धान सुरु गरेको र वास्तविक सर्जकको अपमान हुन नदिने उल्लेख गरेका छन्।

    यो विवादलाई सही समाधान दिन उनले अहिले विभिन्न पक्षसंग कुराकानी भइरहेको मिडिया र आफ्नो फेसबुकवालमार्फत् उल्लेख गरेका छन्। फिल्मको अवस्थाअनुसार गीतका शब्दहरु परिवर्तन गरे पनि यसलाई तोडमोड भन्न नमिल्ले उनको जिकिर छ।

    ‘लोकगीत कसैको रचना नभई लोक संकलन हो’ गिरीले भनेका छन्,‘यसको वास्तविक संकलक को हो अनुसन्धान गर्दैछौं। नाम पत्ता लगाएर वास्तविक स्रष्टाको नाम राखिने छ।’

    उनले यो गीत आफुले सानो छँदै सुनेको र मन परेकाले फिल्ममा राख्न चाहेको उल्लेख गरेका छन्। सुरुमा संगीतकार भनी उल्लेख गरिएका अल्मोडाले आफुहरुलाई सही कुरा नबताएर गलत गरेको उनको भनाई छ। पुराना लोक धुन र गीतहरुलाई पुर्नजिवित गराउने आमचलनअनुरुप आफुहरुले पनि त्यही गरेको उनको दावी छ।

    गीतको शब्द परिवर्तनका विषयमा उनले भनेका छन्,‘फिल्मको अवस्थाअनुसार यस गीतको शब्दहरु परिवर्तन गरिएको हो। यो कुरा फिल्म हेरेपछि प्रस्ट बुझ्नु हुनेछ।’

    पेरिसको संग्रहालयमा कान्छा नेपालीको सारंगी

    श्याम नेपाली खुशी र आश्चर्यले त्यतिबेला गद्गद् भए जतिबेला पेरिसस्थित लुभ्र संग्रहालयमा उनका हजुरबुबाको अरबाजों र सारंगी भेटे। त्यतिमात्र होइन श्यामले आफ्ना हजुरबुबाको १०८ वटा गीतका रेकर्ड कृतिहरु पनि त्यहाँ फेला पारे। उनी त्यती बेला एउटा ठूलो कन्सर्टमा सहभागी हुन सन् २००४ तिर पेरिस पुगेका थिए।

    त्यहाँ नेपाली संगीतको परिचयका क्रममा श्यामको लागि बजाईको संगीतनै उनको हजुरबुबाको थियो। त्यो एउटा बडो आश्चर्यजनक संयोगथियो उनका लागि।

    ‘मेरै लागि बजाईएको पहिलो गीत नैं आफ्नै हजुरबुबाको बज्यो’श्याम भन्छन्,‘त्यो क्षण म हर्षमिश्रीत आश्चर्यले विभोर भएँ।’

    उनले नसोचेको र नखोजेको पाटो विदेशी भूमिको त्यत्रो संग्रहालयमा फेला परेपछि औधी खुशी भए। उनकाअनुसार त्यहाँ नेपालका सिमित बाजाहरु मात्र राखिएका थिए।

    नेपाली थप्छन्,‘त्यत्रो ठूलो म्यूजियममा हजुरबुबाको बाजा र कृतिहरु भेटिनुले संगीतमा उहाँको योगदानलाई कस्तो रहेछ भन्ने दर्शाउँछ।’

    नेपाली संगीत र सारंगी साधकहरुको बारेमा ओस्लो विश्वविद्यालयका डिपार्टमेन्ट अफ म्यूजिकोलोजीका प्राध्यापक हन्स वेसीथानेतले एउटा शोध गरेका थिए। उक्त शोधमा उनका हजुरबुबा कान्छाको विशेष कभरेज भएको श्याम सम्झन्छन्।

    श्यामका अनुसार शोध गरेको करिब ४० वर्षपछि ति प्रोफेसर उनका हजुरबुबालाई भेट्न नेपाल समेत आएका थिए। नेपाली संगीतको धरोहरमा योगदान दिनेहरुप्रति जाने–बुझेकाहरुले अहिले नेपालमै गीतलाई तोडमोड गर्ने र क्रेडिट नैं नदिने कार्यले उनलाई खिन्न तुल्याएको छ।

    श्यामका छोरा प्रिन्सलाई पनि सारंगीको साधक मान्ने हो भने कान्छा मगर नेपालीदेखि चार पुस्ताले सांगीतिक क्षेत्रमा योगदान दिएको छ। गायन र मोडलिंङमा प्रगतिउन्मूख प्रिन्सको ‘सक्षम’ नामक आफ्नै ब्याण्ड पनि छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij