प्रकाशित मिति : आइतवार, भदौ ११, २०७४
काठमाडौं २१ साउन । पूर्वप्रधानमन्त्री एवं काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले आफू भारतीय मुलको नेपाली भएको बताएका छन् ।
केही समयअघि भएको साताव्यापी दिल्ली भ्रमणका क्रममा देउवाले आफ्ना पिता भारतीय भएको बताए । भारतीय रक्षा अध्ययन तथा अनुसन्धान संस्थाले दिल्लीस्थित रामतुला राव मार्गमा रहको आईडीएसए हलमा आयोजना गरेको अन्तरक्रियामा देउवाले आफ्ना पिता भारत गढवालबाट नेपाल आएको बताए ।
देउवाले नेपाल र भारतबीच लामो समयदेखि भाषिक र सांस्कृतिक सम्बन्ध रहेको भन्दै त्यसलाई विश्वकै उदाहरणीयको संज्ञा दिए ।
‘नेपाल र भारतबीच विशेष प्रकारको भाषिक र सांस्कृतिक सम्बन्ध रहँदै आएको छ’, देउवाको भनाइ उद्धृत गर्दै कार्यक्रममा सहभागी नेपाली पत्रकार रोशन खड्काले काठमाण्डु टुडेसँग भने, ‘म गर्वका साथ भन्छु कि मेरा पिताजी भारत गढवालका हुनुहुन्थ्यो ।’
देउवाका पिता प्रसादसिंह देउवाको ०६८ चैत ३ मा निधन भएको थियो ।
लिपुलेक नेपालको मात्र होइन
कार्यक्रममा देउवाले विवादास्पद लिपुलेक नेपालको मात्र नभई चीन र भारतको समेत भएको बताए ।
लिपुलेक त्रिदेशीय सिमामा पर्ने भएकाले नेपालीले आफ्नो मात्र भएको दाबी गर्नु उचित नभएको उनको भनाइ थियो । ‘लिपुलेक नेपालको मात्र होइन, त्रिदेशीय सिमा हो, देउवाले भने, ‘लिपुलेकमा भारतले पनि दाबी गर्न मिल्छ ।’
उनले लिपुलेकबारेको विवाद कुटनीतिक माध्यमबाट गर्नुपर्ने भन्दै सडकमा नाराबाजी गरेर समस्या समाधान नहुने उल्लेख गरे ।
आफूले भारत आउनुअघि नापी विभागका महानिर्देशकलाई बोलाएर जानकारी माग्दा लिपुलेक त्रिदेशीय सिमामा पर्ने जानकारी पाएको भनाइ देउवाको थियो ।
अन्तरक्रियापछिको चियापानमा दिल्लीस्थित एक नेपाली सञ्चारमाध्यमकी प्रतिनिधिले लिपुलेकबारे छलफल गर्न दिल्ली आउनुभएको हो भन्ने जिज्ञाशा राख्दा देउवा झोक्किएका थिए ।
‘लिपुलेकको कुरा गर्न आएको होइन, भारतीय सरकारले बोलाएर आएको हुँ’, उनको जवाफ थियो ।
कार्यक्रममा भारतका पूर्वविदेश सचिव केभी राजन, प्रोफेसर एसडी मुनी, पूर्वजनरल अशोक मेहता र भारतीय रक्षा अध्ययन तथा अनुसन्धान संस्थाका नेपाल डेस्क प्रमुख नेहार नायकलगायत सहभागी थिए ।
देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा गत बुधबारदेखि मंगलबारसम्म भारत भ्रमण गरेका थिए ।काठमाडौ टुडे बाट साभार
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij