प्रकाशित मिति : शनिबार, भदौ २४, २०७४
निशान भट्टराई, बुद्ध लमा र प्रताप दास रियालिटी शो नेपाल आइडलको टप थ्रीमा पुगेका छन्।
शुक्रबार भएको कार्यक्रमबाट चितवनका सागर आले आउट भएपछि अब फाइनलमा प्रतिश्पर्धा गर्ने अन्तिम तीन जना छानिएका हुन्।
गत हप्ता भएको कार्यक्रमको भोटको आधारमा सबैभन्दा कम मत पाएका सागर आउट भएका हुन्। नेपाल आइडलको ग्राण्ड फिनालेमा निशान भट्टराई, बुद्ध लामा र प्रताप दास पुगेका छन् ।
ग्राण्ड फिनाले कतारको राजधानी दोहामा सेप्टेम्बर २२ अर्थात असोज ६ गते हुँदैछ । त्यहीबाट नेपालले प्रथम नेपाल आइडल पाउँदैछ।
नेपाल आइडलले उपाधिसँगै महिन्द्राको कार, २० लाख नगद पुरस्कार पाउनेछ । त्यस्तै फस्ट रनअरअपले १५ लाख र सेकेण्ड रनअरअपले १० लाख नगद पुरस्कार पाउँदैछन् ।
दोहामा हुने ग्राण्ड फिनालेमा नेपाल आइडलका टप १२का प्रतिश्पर्धीसहित नारद खतिवडा, नलिना चित्रकार, हेमन्त राना, र तेरिया मगर दोहा जानेछन्।
को हुन् सागर आले ?
प्लस टुसम्म अध्ययन गरेका चितवनका सागर आले मगरले नेपाल आइडलमा उत्कृष्ट ४ सम्मको यात्रा तय गरे। २० वर्षीय मगर सबै प्रकारका गीत सुन्न र गाउन उत्तिकै खप्पिस छन्।
अहिलेसम्म औपचारिक रूपमा संगीत नसिके पनि उनको गायन कौशल र स्वर नेपाल आइडलबाटै खारिएको उनले बताउँदै आएका छन्।
नेपाल आइडलमा आएर आफूले संगीतसम्बन्धी धेरै कुरा सिकेको उनको भनाइ छ ।
उनी भन्छन्– परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आकर्षित भएको हुँ । सागरले नेपाल आइडलका लागि नारायणगढबाट अडिसन दिएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij