प्रकाशित मिति : बुधबार, कार्तिक ८, २०७४
नेकपा एमालेले आफ्ना उम्मेदवारविरुद्ध गठबन्धनको निर्णयविपरित माओवादी केन्द्रका बागी उम्मेदवारको मनोनयन फिर्ताको पहल गर्न माओवादी केन्द्रलाई आग्रह गरेको छ।
एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बागी उम्मेदवारी फिर्ता गर्न माओवादी केन्द्रसँग छलफल भैरहेको बताए।
उनले एमालेका तर्फबाट परेका सबै बागी उम्मेदवारी फिर्ता हुने दाबी समेत गरे।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको आधिकारिक पत्र लिएका बाहेक पार्टी राजनीति गरिरहेका कतिपय नेताले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन्।
मुगुमा एमालेले गठबन्धनको सहमति नुसार प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवारी दिएको भए पनि स्थानीय माओवादी नेताले बागी उम्मेदवारी दिएका छन्। त्यहाँ माओवादी केन्द्रका सुरबहादुर बुढा बागी उम्मेदवार बनेका छन्। गठबन्धनको तर्फबाटएमालेका गोपालबहादुर बमले मनोनयन दर्ता गराएका छन्।
दोलखामा भने एमाले उम्मेदवार नेकपा मालेबाट चुनाव लड्न लागेपछि समस्या भएको श्रेष्ठले बताए। ‘त्यहाँ पार्टी नै फरक भयो, त्यसैले मिलेको छैन, बाग्लुङमा पनि गाह्रो परेको छ’, उनले भने। दोलखामा लालकुमार केसीले एमाले छाडेर मालेबाट उम्मेदवारी दिएका छन्।
जाजरकोटमा भने माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतविरुद्ध एमालेबाट बागी उम्मेदवारी दिएका गोविन्दविक्रम शाहले उम्मेदवार फिर्ता लिने भएका छन्। उनले केन्द्रीय नेतृत्वको आग्रहमा उम्मेदवारी फिर्ता लिन लागेको बताएका छन्।
‘छलफल सकारात्मक भैरहेको छ, एमालेको तर्फबाट फिर्ता होला भन्ने अपेक्षा छ’, गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार बस्नेतले सेतोपाटीसँग भने।
त्यसो त गठबन्धनमा असन्तुष्ट बनेका कतिपय माओवादीका उम्मेदवारविरुद्ध एमाले नेता/कार्यकर्ताले मनोनयन दर्ता गराएका छन्। माओवादी केन्द्रलाई भने बागी मिलाउन सकस छ। रामेछापमा श्यामकुमार श्रेष्ठविरुद्ध माओवादीकै लक्ष्मी गुरुङको उम्मेदवारी परेको छ।
श्रेष्ठले सेतोपाटीसँग कुराकानी गर्दै बागी उम्मेदवारी फिर्ता गर्न छलफल भैरहेको बताए। ‘मिलेको छैन, हामी छलफल गर्दै छौं’, उनले भने। त्यहाँ उम्मेदवारी फिर्ता हुने सम्भावना भने न्यून छ।
पूर्वी रुकुममा कमला रोकाविरुद्ध माओवादीकै तेजेन्द्र खाम मगरले उम्मेदवारी दिएका छन्। रोकाले कुराकानी भइरहेको र बुधबारसम्ममा उम्मेदवारी फिर्ता लिने तयारी भैरहेको बताइन्। ‘छलफल चलिरहेको छ, उहाँले फिर्ता लिनुहुन्छ’, रोकाले भनिन्।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आज १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij