प्रकाशित मिति : आइतवार, कार्तिक १९, २०७४
काठमाडौं उपत्यकाका चार भञ्ज्याङमध्येको पश्चिमी चन्द्रागिरि भञ्ज्याङको काखमा पर्ने थानकोटमा महालक्ष्मी अर्थात सिन्दुर जात्रा शुरु भएको छ। यो जात्रा कात्तिक पूर्णिमाको अघिल्लो दिनदेखि शुरू भई मार्ग कृष्णपक्षको प्रतिपदासम्म गरी तीन दिन मनाइन्छ।
यसलाई न्हूँद ११३८ (नयाँ वर्ष) सुरु भएपछिको पहिलो जात्राको रूपमा लिइन्छ । स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, सातापछि थानकोटमा हुनेलाई सकिमर: र एक महिनापछि सतुंगलमा हुने जात्रालाई बखुमर: (सातगाउँले जात्रा) भनिन्छ । जात्रा दुवा गुठीले सञ्चालन गरिन्छ । आइतबार मू: (मुख्य) जात्रा र सिन्ह: या जात्रा भनी सोमबार सिन्दूर जात्रा गरिएको छ । सिन्ह:या जात्रामा छोरीबेटी, आफन्त नातागोता पाहुना बोलाउने चलन छ ।
द्वोरे घरबाट ऐतिहासिक खड्ग पीठमा ल्याई गरिने जात्रा र ढकीमा राखी कुमारीको मूर्तिको नगर परिक्रममा गराइने जात्राको अर्को विशेषता हो । जात्रा मनाउन आइतबार कुमारी घर, महालक्ष्मी र गणेश मन्दिरबाट विधिवत् रूपमा पूजाआजा गरी देवता बाहिर ल्याए । जात्रामा महालक्ष्मी, गणेशलाई शिखर शैलीको छुट्टाछुट्टै रथमा राखेर सांस्कृतिक बाजागाजाको साथमा टोलटोलमा परिक्रमा गराइयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij