प्रकाशित मिति : बुधबार, मंसिर १३, २०७४
बुधबार काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु२ख २९१ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित फिस्लिङबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ ।
विपरीत दिशाबाट आएको ना६ख ४९७२ नम्बरको ट्रकसँग ठोक्किँदा बस नदीमा खसेको हो ।
मृतक ६ जनाको दुर्घटनालगत्तै शव निकालिएको थियो भने एकजनाको पानीमा डुबेको बसभित्रबाट गोताखोरले शव निकालिएको र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी बताएको छ ।
बाटोमा मृत्यु हुने पवन महत छन् । दुर्घटनामा मृत्यु भएकामध्ये एकजनाको सनाखत भएको छ । सनाखत हुनेमा भैरहवाका देवदह नगरपालिका घर भएका दीपक पाण्डे छन् ।
दुर्घटनामा नदीमा बेपत्ता भएको बस नदीको सतहबाट करिब ३० मिटर तल डुबिएको अवस्थामा सशस्त्र प्रहरीको गोताखोरको टोलीले भेट्टाएको छ ।
बसलाई निकाल्न अहिले क्रेन ल्याउने तयारी गरिएको छ । दुर्घटनाग्रस्त बसबाट २३ जना घाइतेको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ ।
घाइतेमध्ये केहीको चितवन मेडिकल कलेजमा र केहीको काठमाडौंमा उपचार भइरहेको छ । बसमा कति यात्री थिए भन्ने अझै खुलेको छैन ।
काठमाडौंबाट २६ जनाको चलानीसहित गएको बसमा बीच बाटोमा कति यात्री चढे भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा जुटेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij