आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २९, २०७४



  • सुर्खेत, मंसिर २९ । सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ ।

    बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो ।

    वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा देखिएको छ । वर्षेनी तीन हजारभन्दा बढी किशोरी आमा बनेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा नौ हजार ६७९ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएका थिए, जसमध्ये तीन हजार २९ किशोरी छन् ।

    त्यसैगरी, आव २०७२/७३ मा पनि झण्डै तीन हजार किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आएका थिए । कार्यालयको तथ्यांकअनुसार दुई हजार ८५१ ले प्रसूति सेवा लिएका थिए ।

    बढ्दो बालविवाहका कारण आमा बन्ने महिलाको संख्यामा वृद्धि भएको छ, जसका कारण आमाको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय, सुर्खेतका सूचना अधिकृत वसन्तमान श्रेष्ठले जानकारी दिए ।

    ‘कम उमेरमा विवाह गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा रहेको छ’, सूचना अधिकारी श्रेष्ठ भन्छन्, ‘जसका कारण यस्ता किशोरी घरेलु हिंसाको शिकार हुन बाध्य भएका छन् ।’

    त्यसैगरी, गर्भवती जाँच गर्न आउने किशोरीको संख्या पनि उत्तिकै रहेको छ । आव २०७३/७४ मा चारपटक गर्भ जाँच गर्नेको संख्या छ हजार ७५६ रहेकामा चार हजार ७६९ जना २० वर्ष मुनिका रहेका छन् ।

    यस्तै, आव २०७२/७३ मा आठ हजार ५६७ ले पहिलोपटक गर्भ जाँच गराएकामा झण्डै तीन हजारजना २० वर्ष मुनिका रहेका छन् ।

    गर्भवती किशोरी जाँच गर्न कमै आउने गरेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् । लाजका कारण पनि किशोरी गर्भ जाँच गर्न नआउने कारणले उनीहरुको स्वास्थ्यमा जोखिम हुने श्रेष्ठले बताए । यसले गर्दा किशोरीको प्रसूति अवस्थामा विभिन्न जटिलता आउने गरेको श्रेष्ठको भनाइ थियो ।

    यसले जिल्लामा बालविवाह गर्नेको संख्या पनि ठूलो रहेको देखाउँछ ।

    बालविवाह अन्त्यका लागि विगत लामो समयदेखि जिल्लामा विभिन्न कार्यक्रम भइरहेका छन् । तर, पनि बालविवाहमा कमी आउन सकेको छैन । सरकारी तथा गैरसरकारी निकायबाट पनि बालविवाहविरुद्धका अभियान सञ्चालन भइरहेका छन् । बालविवाहविरुद्ध काम गर्ने संघसंस्थाले बालविवाह न्यूनीकरण भएको दाबी गरिरहे पनि अवस्था उस्तै रहेको अस्पतालको तथ्यांकबाट प्रष्ट हुन आउँछ ।

    जिल्लामा उपचार गरिएका जटिल प्रकारका उपचार गराउनेमध्ये अधिकांश २० वर्ष नपुग्दै बच्चा जन्माउने किशोरी आमा रहेका छन् । कार्यालयका अनुसार कम उमेरमा बच्चा जन्माउँदा जिल्लामा शिशु मृत्युदरसमेत बढेको छ । कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारण रहेको सूचना अधिकारी श्रेष्ठको भनाइ थियो ।

    सामाजिक संस्कार तथा मूल्य मान्यताका कारण यसमा प्रत्यक्ष असर परेको उनी बताउँछन् । यस्तो गलत संस्कारको अन्त्यका लागि जनचेतनाको आवश्यकता रहेको महिला अधिकारकर्मी संगीता वलीको भनाइ छ ।

    परिवार नियोजनका अस्थायी साधनबारे राम्रो जानकारी नहुँदा पनि कम उमेरमै बच्चा जन्माउने गरेको पाइएको उनले बताइन् ।

    बालविवाहको कारण अन्य पारिवारिक जिम्मेवारी बढ्ने, मानसिक तनाव बढ्ने, स्वतन्त्रताको कमी हुनेजस्ता सामाजिक बन्धनले गर्दा यस्ता किशोरीमा डिप्रेसन (मानसिक चिन्ता) हुन सक्ने तथा किशोरावस्थामा नै गर्भवती हुनुपरेमा गर्भको जटिलता बढी हुने चिकित्सक बताउँछन् । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij