शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कडा शारीरिक श्रम गर्न बाध्य छन् रोल्पाली महिला

  • प्रकाशित मिति : मङ्लबार, पुस ११, २०७४



  • रोल्पा, पुस ११ । रोल्पा खुमेलकी सुमित्रा विक सदरकुमाम लिवाङमा गाडीबाट सामान लोड अनलोडको काम गर्छिन् । ३२ वर्षीया विकले केही वर्षयता सोही कामलाई निरन्तरता दिइरहेकी छिन् ।

    तीन छोरीकी आमा विकको कमाइबाट घर खर्च चलेको छ भने दुई छोरीले विद्यालयमा पढिरहेका छन् । उनका श्रीमानले पनि लिवाङमै ज्यालामजदुरी गर्छन् । गाडीबाट सामान लोड अनलोडबाट सुमित्राको मासिक कमाइ रु १५ हजार पुग्ने गर्दछ ।

    सदरमुकाममा रहेको उच्च माध्यमिक विद्यालयकी विद्यार्थी हुन दिलसरा डाँगी । हाल शिक्षा विषय लिएर कक्षा १२ पढ्दै गरेकी डाँगी बिहानी कक्षा लिएर दिउँसो गाडी लोन अनलोड गर्न जान्छिन् ।

    पढ्नका लागि गाउँबाट सदरमुकाम आएकी दिलसराको आर्थिक अवस्था कमजोर रहेकाले दिउँसोको समय मजदुरी गर्न बाध्य छिन् । गाडी लोड अनलोडबाट रु १०÷१५ हजार मासिक कमाइ गर्दै आएकी दिलसराले खर्च गरेर बचेको पैसा घर पठाउने गर्छिन् । बिहान विद्यालय गएर अध्ययन गरेपनि दिनभर मजदुरीमा जानुपर्ने बाध्यताले उनको पढाइलाई समत असर गरिरहेको छ ।

    भारत गएका श्रीमान् लामो समयसम्म फर्केर नआएपछि उषा परियारलाई चार छोराछोरीको पालनपोषणका लागि ज्याला मजदुरी नगरी सुखै भएन । श्रीमानको कमाइले छोराछोरी पाल्ने सपना देखेकी उषाले भारत पुगेका श्रीमानले पैसा पठाउनु त कहाँ हो कहाँ, श्रीमान् नै बेखबर भएपछि साना छोराछोरी बोकेर लिवाङ आउनुको विकल्प भएन । अचेल छोराछोरी विद्यालय पढाइरहेकी उषाले गाडी लोड अनलोड गरेर कमाएको पैसाले जेनतेन घर व्यवहार चलेको छ । उषाको मासिक कमाइ रु १५ हजारभन्दा बढी नै हुने गर्दछ ।
    सुमित्रा, दिलसरा र उषा रोल्पाली श्रमिक महिलाका प्रतिनिधि पात्र हुन् । भवन निर्माण, सडक निर्माण, पुल निर्माणजस्ता कार्यमा मात्र हैन गाडीमा लोड अनलोड गर्ने काममा समेत महिलामात्रै देखिन थालेका छन् ।

    कडा शारीरिक श्रम गर्ने ठाउँमा महिलाको उपस्थिति बढ्दै गएको देखिएको छ । यसको मुख्य कारण पुरुषको विदेश पलायन भएको नेपाल निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मानबहादुर खत्री बताउँछन् । ‘पुरुष जति वैदेशिक रोजगारीमा जाने भएकाले महिला ज्याला मजदुरीका लागि बाध्य भएका छन्,’ खत्रीले भने ।

    विदेश गएका आफन्तको समेत राम्रो कमाइ नहुँदा रोजीरोटीका लागि महिला गह्रौँ शारीरिक श्रम गर्न बाध्य भएको खत्रीले बताए । पुरुषको तुलनामा महिलाले इमान्दारिताका साथ काम गर्ने भएकाले पनि निर्माण कार्यमा महिलाले प्राथमिकता पाउन थालेको खत्रीको बुझाइ छ ।

    जिल्लामा अधिकांश महिलाले अदक्ष र जोखिमपूर्ण काम गर्ने भएकाले उनीहरुको शारीरिक सुरक्षा मुख्य चुनौतीका रुपमा देखिएको खत्री बताउँछन् ।

    विदेश गएका श्रीमानको राम्रो कमाइ नहुने तथा कमाइ भए पनि घरमा पैसा नपठाउने समस्या रहेकाले रोल्पाली महिला कडा शारीरिक श्रमयुक्त काम गर्न बाध्य भएको महिला अधिकारकर्मी तीर्था आचार्यको बुझाइ छ । महिनावारी, गर्भवती र सुत्केरी अवस्थामा महिलाको शरीर निकै कमजोर हुने भए पनि रोल्पाका श्रमिक महिलाले त्यस्तो अवस्थामा समेत काम गर्न बाध्य भएको आचार्यको भनाइ छ ।

    ‘कडा शारीरिक श्रम गर्ने महिलाले पोषणयुक्त खानाको त के कुरा समयमै र पेटभरि खानसमेत पाउँदैनन्,’ उनले भनिन् ।

    कडा शारीरिक श्रम गरी परिवार पाल्न बाध्य त्यस्ता महिलाका लागि सिपमूलक तालीमको व्यवस्था गर्नुपर्ने आचार्यको भनाइ छ ।

    दैनिक १९ जना रोल्पाली रोजगारीका लागि खाडी जाने गर्दछन् । स्वदेशमा भरपर्दो राजगारी नपाएका कारण विदेशिने त्यस्ता रोल्पालीमध्ये ८० प्रतिशत बढी २० देखि ४० वर्ष उमेर समूहका छन् ।

    श्रमयुक्त जनशक्ति विदेसीएसँगै रोल्पाका अधिकांश घरमा महिला बालबालिका र वृद्धवृद्धा मात्रै देखिने गर्दछन् । अदक्ष कामदारको रुपमा अधिकांश रोल्पाली विदेश जाने गरेका छन् । समयमा तलब नपाउने, तलब कम पाउने, समय समयमा बिरामी भइरहने समस्यासमेत रहेको बताइन्छ । पुरुष विदेश गएसँगै खेतबारी खनजोतको कामसमेत महिला र वृद्धवृद्धाले गर्नुपर्ने भार थपिएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij