आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सन् २०१७ को विश्व राजनीति : हाइड्रोजन बमदेखि जेरुसेलमसम्म

  • प्रकाशित मिति : सोमवार, पुस १७, २०७४



  • काठमाडौं, १७ । पुुस आणविक आडम्बरको अहिलेसम्मको अन्तिक किस्ता उत्तर कोरियाले उसको आफ्नै भाषामा गत सेप्टेम्बरमा ‘रिलिज’ गर्‍यो ।

    हाइड्रोजन बममिश्रित उसको अस्त्रको होडले भौतिक रुपमा एसिया (उत्तर र दक्षिण कोरिया, जापान)मात्र हल्लाएपनि यसको राजनीतिक विकीरणले भने समग्र भूगोललाई नै तरंगित बनायो । यसरी हेर्दा सन् २०१७ को विश्व राजनीतिको तरंग कोरियाली प्रायद्वीय छेउछेवा भएर बहेको छ ।

    विश्वका खासगरी शक्ति राष्ट्रहरुका आ–आफ्ना भूराजनीति भएपनि उत्तर कोरियाले परीक्षण गरेको यो पछिल्लो क्षेप्यास्त्रले ल्याएको ६ म्याग्निच्युडको भूकम्पले एसियाका यी तीन देशलाई भौतिक रुपमै र बाँकी विश्वको राजनीतिको जग पनि हल्लाइदिएको छ । त्यसैले, यो आडम्बरको राजनीतिक जरो कहाँनिरबाट पलाएको छ र उसले यति शक्तिशाली बम बनाउने विजुलीको तार कहाँ जोडिएको छ भनेर अमेरिकाले यो सालभरि नै खोजि गरिरहेको छ, तर भेटेको छैन ।

    उसले आफ्नो यो क्षेप्यास्त्रको तिर एकैपटक जापान र अमेरिकातिर फर्काएर प्रहार गरेको छ । जापानको सामुद्रिक आकासहुँदै पठाएको त्यो क्षेप्यास्त्रले अमेरिकासम्म नै मार हान्नसक्ने उसले जनाएको छ । दक्षिण कोरियाको त कुरै भएन उत्तरको जन्मजात शत्रु नै भइहाल्यो । उत्तरको यो चेतावनीबाट तातेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान, दक्षिण कोरिया र चीनको भ्रमण गरे । तर, त्यसको जरो फेलापार्न सक्नुभएन । बरु उनका विदेशमन्त्रीले विनाशर्त वार्तामा बस्न अमेरिका तयार रहेको विचार हालै सार्वजनिक गरे ।

    वास्तवमा ट्रम्पका दिनहुँका ट्वीटको आसयले यसको जरो चीनमा देखेको भान हुन्छ । उनले केही दिनमात्र अघि एउटा ट्वीटमा उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले नै कडा नाकाबन्दी लगाएको र त्यसमा चीनको हस्ताक्षर भएपनि चीनले कोरियालाई भित्रभित्रै इन्धन आपूर्ति गरिदिएको आरोप लगाएका थिए । उनले चीन भ्रमणका क्रममा पनि मुखै फोरेर भनेका थिए कि, चीनले चाहनामा यो समस्याको समाधान छ । उनको आसय थियो, –उत्तर कोरियाको हातबाँध्न चीन बाहेक अरुले सक्दैन ।

    यो मामिलामा रुस मौन छ । चीनले वार्ताका माध्यमबाटै सबै समस्या हल गर्नुपर्छ भन्ने कूटनीतिक धारणा सार्वजनिक गर्ने गरेको छ । सिंगो युरोप आतंकवाद, आप्रवासन, आर्थिक मन्दी र बे्रक्जिट समस्यामा रुमलिएको छ ।

    उता परमाणु क्रियाकलाप प्रतिबन्धित जापानमा प्रधानमन्त्री सिन्जो आबेको दलले संविधान संशोधन गर्न सक्नेगरी दुई तिहाई बहुमत हासिल गरेको छ । यता कोरियाली प्रायद्वीपमा अमेरिका र दक्षिण कोरियाको शक्तिशाली स्थल र हवाई समेतको संयुक्त सैन्य अभ्यास जारी छ । उत्तर कोरियाले भने उसको अर्काे कुनै खेती नै नभएजस्तोगरी हरेक हप्ता नयाँ परीक्षणको धम्की दिई नै रहेको हुन्छ । त्यसैले सन् २०१८ को पनि विश्व राजनीतिको अधिकांश समय उत्तर कोरियाले नै लिने अवस्था देखापर्दैछ ।

    डोनाल्ड ट्रम्पका एकपछि अर्काेगरी बाहिर आउने विवादस्पद निर्णय र नीतिले विश्व राजनीतिलाई प्रत्यक्ष रुपमा प्रभावित बनायो । कहिले उत्तर कोरियालाई खरानी बनाइदिने त कहिले कुनै मुस्लिम बाहुल देशले आफ्नो देशमा प्रवेश नपाउने भन्नेजस्ता अभिव्यक्ति उनका आए । जसले अघिल्ला वर्षहरुजस्तै अमेरिकालाई मुस्लिम विश्वबाट भावनात्मक रुपमा अलग्याउने काम गर्यो । न्युयोर्कको ट्वीन टावरमा हमला गर्ने ओसामा विन लादेन खोज्न इराक र अफगानिस्तान प्रवेश गरेको अमेरिकाको मुस्लिम विश्वसँगको विगतको टाढिँदो सम्बन्धमा उनको विभिन्न ६ ओटा मुस्लिम बाहुल देशका नागरिकले अमेरिका प्रवेश नपाउने नीतिसम्म आइपुग्दा त्यो विभाजनको घेरा थप फराकिलो बनाइदिएको छ ।

    त्यसो त छिमेकीबाट एक्लिएको कतार कूटनीतिमा पनि अमेरिकाकै प्रवेश देखिएको विश्लेषण सन् २०१७ को जुन महिनादेखि गरिएको छ । साउदी अरेबियासँग राम्रो सम्बन्ध बनाएका ट्रम्पले सार्वजनिक रुपमा नगरेपनि आइएस नामक मुस्लिम अतिवादी संगठनलाई उनकै शब्दमा प्रश्रय दिएको ठान्ने कतारलाई एक्ल्याउन अमेरिकी नीति भित्री रुपमा जिम्मेवार रहेको गल्फको अनुमान छ ।

    जुन ५ देखि साउदी अरेबियाको नेतृत्वमा कतारका छिमेकी गल्फ देशहरु संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्टलगायतले लगाएको नाकाबन्दीमा पनि पश्चिमा राजनीति मिसिएको बताइन्छ ।

    इरानसँग कूटनीतिक सम्बन्ध तोड्नुपर्ने, अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्नेजस्ता छिमेकीले राखेका मागहरुमा गल्फमात्रको राजनीतिले काम गरेजस्तो लाग्दैन । यसलाई विश्व राजनीतिकै आँखाबाट हेरिनुपर्दछ । जुन कतारका लागि सात महिनादेखि एउटा पीडा बन्न पुगेको छ । जसले कतारलाई विश्वकप फुटबलको आयोजनाबाट रोक्ने ध्येय भित्री रुपमा राखेको छ ।

    जेरुसेलम अमेरिका र मुस्लिम विश्वको सम्बन्धको आजसम्मको पछिल्लो किस्ता हुनसक्छ जसले अमेरिकालाई विश्वमा नराम्रोसँग एक्लाइदिएको छ । जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकी निर्णय राष्ट्रसंघमा पुग्यो, मतदान भयो र अमेरिकी प्रस्तावले नौ मतमात्र पाउँदा विपक्षीमा १२८ देखि उभिए । राष्ट्रसंघमा अमेरिकाको यतिधेरै एक्लोपन यसअघि सायदै देखिएको थियो ।

    अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी राष्ट्रपतिको चाह देखिएको भनी सन् २०१७ भरि गरिएको राजनीतिलाई दुई देशको आन्तरिक मामिलामात्र भन्न सकिँदैन । किन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हिलारी क्लिन्टनको विपक्षमा लाग्न पुगे भन्ने विषयले अमेरिकी राजनीतिमा रुसको सिधा प्रवेश मान्न नसकिएपनि अझै पनि रुसको शक्ति अमेरिकाको राजनीतिसम्म घुस्नसक्ने हैसियतमा छ भन्ने देखाउँछ ।

    यसले अमेरिकी नागरिकलाई हिनताबोधभन्दा बढी रुसी महासंघमा सफल पुटिनले किन विश्वको शक्ति राष्ट्र अमेरिकाको राजनीतिमा प्रवेश ताक्दैछन् भन्ने कुरा बढी रहस्यमय हुनसक्छ ।

    सुरुमा यस्तो कुनै सम्भावना छैन भनेर टक्टकिएका राष्ट्रपति ट्रम्पले यस्तो वाहियात तर्क भनेर अमेरिकी मिडियालाई फेक मिडियासमेत भन्न पछि परेनन् । पछि यसरी यो तथ्य खुल्यो कि उनकै छोरालाई अमेरिकी सिनेट समितिमा बयानमा उभ्याइयो र उनकै मुखबाट बुबाको निर्वाचनबारे कुरागर्न एक रुसी महिला वकिलसँग भेटेको तथ्य बाहिर आयो । र पछि त स्वयम् ट्रम्पले नै रुसको यो कामले अमेरिकी नागरिककै कद घटाउने दुश्प्रयास गरेको भन्न समेत पछि परेनन् ।

    ब्रेक्जिट युरोपको मुद्दा हो भने सिरिया, यमनको हिंसा गल्फको आन्तरिक राजनीतिमा जकडिएको मामिला हो । सिरिया यमनमा पछिल्लो समयमा इराकबाट लखेटिएको आइएसको प्रवेश भएको छ । यसले शान्तिपूर्ण समाधान दिने लक्षण देखिँदैन । यता अफगानिस्तान, पाकिस्तानमा घरायसी आतंकवादको जरो कमजोर बनेको देखिन्न । भारतको विश्व राजनीतिमा प्रवेश अहिले नै सम्भव देखिँदैन भने म्यानमारबाट लखेटिएका रोहिंग्या त्यहाँको आन्तरिक जातीय राजनीतिको पराकाष्ठा हो ।

    जाँदाजाँदै वर्षको उत्तररार्धतिर एक पटक विश्वमा चीनको चर्चा पनि चुलियो । विश्वले चीनको राजनीतिक विकासक्रममा चाखराख्यो जुन चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कांग्रेसको कार्यक्रम थियो । यस कांग्रेसले चीनका वर्तमान राष्ट्रपति सि चिनफिङलाई बढी शक्तिशाली बनायो र उनको राजनीतिक बिचारलाई माओवादजस्तै संविधानमै लेख्ने निर्णय ग¥यो । उनको पहिलो कार्यकालको सफलताको व्यापक प्रसंशा हुनु, दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भई थप शक्तिशाली बन्नु र आफ्नो उत्तराधिकारीको चयन नगरिनुलाई चीन र विश्वले उनको पुनःउदयलाई अर्काे युगको संज्ञा दिएर चीनको राजनीतिमा बढी चर्चा भएको हो ।

    यसलाई विश्वले उनले नै अघि सारेको २१ औं शताब्दिको सबैभन्दा महत्वाकांक्षी आयोजना ‘बिआरआई’ को सफलतासँग पनि जोडेर हेरेको हो । यस कारण सन् २०१७ को विश्व राजनीतिमाको केन्द्रमा चीन पनि रहन पुग्यो । यी सबै घटना र बिचारहरुले आगामी वर्षमा पनि निरन्तरता पाउनसक्ने सम्भावना छँदै नै छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij