प्रकाशित मिति : सोमवार, माघ १, २०७४
ज्यान गुमाएको डेढ महिनापछि जाजरकोटको जुनिचाँदे गाउँपालिकाका शिशु र वृद्धवृद्धा के कारणले मृत्यु भएको यकिन गर्न भर्बल अटोप्सी गर्न थालिएको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भीम आचार्य भन्छन्, ‘मृत्यु भएकाहरूलाई जलाइसकेकाले के रोगले मरे भन्ने पुष्टिसहित मृत्युको सम्भावित कारण पत्ता पाउन भर्बल अटोप्सी (मौखिक रूपमा नातेदारसँग सोधपुछ) गर्छौं। लक्षणसहित सबै तथ्य लिएपछि के कारणले मरेको हो पत्ता लगाउन सकिएला भन्ने आशा छ।’ सातदिने शिशुदेखि वृद्धले ज्यान गुमाएको डेढ महिनापछि थाहा पाएको सरकारले मरेका व्यक्ति कुन रोगले मरे भन्ने पत्ता लगाउन ‘भर्बल अटोप्सी’ (आफन्त र नातेदारसँग सोधपुछ गरेर पत्ता लगाउने तरिका) अपनाएको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
जन्मिएको १० दिनमै जुनिचाँदे गाउँपालिका-२ का मनोज तिरुवाल र रमेश शाहीले ज्यान गुमाए। २५ दिनका धीरेन्द्र शाहीको पनि अल्पायुमै ज्यान गयो। सोही वडाका अढाई महिनाका रेवना नाथको पनि मृत्यु भयो। पुस १२ गतेदेखि प्रकोप फैलिएको हो
न्वारान नै नगरी सात दिनमै छोरालाई गुमाए खड्गबहादुर शाहीले। उनका छोराको हाइपोथर्मिया (जाडोले हुने कम्पन) बाट निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। जुनिचाँदे गाउँपालिका-३ का एकमहिने खड्ग परियार बिते। त्यस्तै, ७० वर्षकी आइती तिरुवाले पनि ज्यान गुमाइन्। ७९ वर्षीय शत्रुप शाहीले पनि ज्यान गुमाए। ५४ वर्षीय कर्सिङ टमटाको ज्यान गयो। पुस १९ गते बितेकी ५५ वर्षीया धनसरा नाथमा मात्र रुघाखोकीको लक्षण देखियो। ‘एक जनामा मात्र रुघाखोकीको लक्षण देखिएकाले भाइरल इन्फ्लुएन्जा हो कि भन्ने आशंका छ’, विभागका निर्देशक डा. आचार्य भन्छन्, ‘कोही निमोनिया त कोहीमा मुटु र स्नायु प्रणालीमा समस्या भएको पाइएको छ। वृद्धवृद्धामा दम र मुटुको समस्या देखिएको छ।’
पुस ८ पछि नवजात शिशु मृत्यु हुने क्रम बढ्न थालेको हो। हालसम्म जुनिचाँदेका वडा नं १, २, ३ र ११ मा फैलिएको भाइरल ज्वरोबाट पाँच वर्षमुनिका सात जना र ५० वर्ष माथिका ६ जना गरी १३ जनाको मृत्यु भएको छ भने झन्डै २ हजार बिरामी परेका छन्। तीमध्ये पाँच जनाको रगत परीक्षण गर्दा १ जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु भाइरस फेला परेको थियो।
रोग प्रभावित क्षेत्रमा शनिबार गएको सरकारी टोलीले दुई बाकस औषधि उपलब्ध गराएको छ। रेडक्रससँग समन्वय गरी दुई सय थान कम्बल वितरण गरिएको डा. आचार्यले जानकारी दिए।उनले भने, ‘जाजरकोटको ज्वरो पनि भाइरल। न्युज पनि भाइरल भयो। अखबारबाट थाहा पाएपछि थप क्षति हुन नदिन चिकित्सक र औषधिको पर्याप्त व्यवस्था गरेका छौं।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij