शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भारतीय कम्पनीसँग कुरा मिलेन: डीपीआरबिनै काठमाडौं–तराई द्रुत मार्ग

  • प्रकाशित मिति : सोमवार, माघ १, २०७४



  • मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण मानिएको काठमाडौं–निजगढ दु्रुत मार्ग (एक्सप्रेस वे) को काम विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै अघि बढ्ने भएको छ । भारतीय कम्पनीसँग खरिदमा कुरा नमिलेपछि सेनाले डीपीआरबिना नै निर्माण अघि बढाउने तयारी थालेको हो । सेनाले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज लिमिटेड (आईएलएन्डएफएस) ले तयार पारेको डीपीआर खरिद गर्ने विषयमा आइतबार अबेरसम्म छलफल गरेको थियो । यो खबर चन्द्रशेखर अधिकारीले आजको कान्तिपुरमा लेखेक छन्।

    सेनाको प्राविधिक टोलीले भारतीय कम्पनीको डीपीआर पूर्ण नरहेको र द्रुत मार्ग उनीहरूले भने झैं बन्न नसक्ने निष्कर्ष निकालेपछि केही भाग मात्र खरिद गर्नेबारे छलफल भएको हो । उक्त टोलीले एक साताअघि नै डीपीआर र फिल्ड अध्ययन गरेर रथी पूर्णचन्द्र थापा नेतृत्वको उच्चस्तरीय समितिलाई प्रतिवेदन बुझाइसकेको छ । ‘सेनाले आफ्नो तबरले काम गर्न यस्तो डीपीआर अस्वीकार गरेको हो,’ यसमा संलग्न एक अधिकारीले भने, ‘नौ स्थानमा स्थानीय ठेक्का प्रक्रिया अघि बढेको छ । यसबाट बाटो चौडा गर्ने काम हुनेछ । अन्य काम पनि अघि बढदै छन् ।’ छोटो समयमा अघि बढाउन पर्ने भएकाले सेनाले डीपीआर र काम सँगै अघि बढाउने तयारी गरेको ती अधिकारीले बताए । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पनि राष्ट्रिय गौरवको परियोजना भएकाले यसलाई समयमा सक्न हदैसम्मको प्रयास गरिने बताउँदै आएका छन् । ‘यो काम हामी समयमा सक्छौं । यसका लागि पुराना प्रतिवेदनको अध्ययन भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनालाई हामीले पनि आफ्नो गौरवपूर्ण जिम्मेवारीका रूपमा लिएका छौं । सबैको सहकार्यमा काम अघि बढिरहेको छ । सबै प्रक्रिया ठीक रहे हामीले समयमा सक्ने छौं,’ उनले यसअघि भनेका थिए ।

    सेनाले विभिन्न पाँच स्थानमा सुरक्षा बेस क्याम्प राखेर कामलाई द्रुत गतिमा अघि बढाइसकेको छ । कामदारको सुरक्षा र बस्ने खाने व्यवस्थाका लागि पाँच स्थानमा सुरक्षा बेसक्याम्प राखिएको हो । अन्य पाँच स्थानमा पनि प्रक्रिया अघि बढाइएको छ । दुवैतिर रेलिङसहित ३१ मिटर फराकिलो उक्त ७६ किलोमिटर सडकको बीचमा डिभाइडर रहने गरी त्यसको मोडल यसअघि नै तय भएको हो । तर, सेनाले उक्त डीपीआर अनुसार काम नगरेमा यसको मोडलमा समेत परिवर्तन हुने र लम्बाइ घट्ने जस्ता कार्यहरू हुनसक्ने अधिकारीहरूले बताए । दु्रत मार्गको सबै विषयलाई ध्यानमा राखेर सेनाले मंगलबार पत्रकार सम्मेलनसमेत गर्ने भएको छ ।

    अघिल्ला अध्ययनमा अडेर काम अघि बढाए एसियाली मापदण्डको उत्कृष्ट राजमार्गका रूपमा रहने सरकारको बुझाइ छ । नेपाली सेनालाई जिम्मा दिएपछि त्यसमा सेनाको प्रतिष्ठासमेत जोडिएको तर केहीको व्यक्तिगत ‘लालच’ ले यो प्रक्रियामा समस्या आउन सक्ने अधिकारीको आशंका छ । सरकारले डेढ अर्ब रुपैयाँ गत असारमा नै निकासा दिएर काम अघि बढाएको छ । पछिल्लो टेन्डर र यसको काम गराईको शैलीले प्रशस्त जिज्ञासा सिर्जना भएको सेनाकै अधिकारीहरू बताउँछन् ।

    यसअघि सानातिना ट्रयाक खोल्ने र निकै जोखिमपूर्ण स्थानमा सडक बनाउने काम गरेको अनुभवका अधारमा नै यसलाई दिइएको हो । ‘सरकारले नेपाली सेनालाई विश्वास गरेर दिएको यो बृहत् परियोजनालाई मुलुकको विकासको गतिलाई अघि

    बढाउन र सेनाको जिम्मेवारी पूरा गर्ने छ,’ सेनाका प्रवक्ता सहायक रथि गोकुल भण्डारीले भने, ‘फिल्ड र डीपीआर दुवैमा काम भइरहेको छ । प्राविधिक टोलीले बुझाएको प्रतिवेदनमा काम भइरहेको छ ।’

    सानाठूला ९२ पुल र डेढ किलोमिटर सुरुङ मार्गसहित निर्माण हुने उक्त सडक सक्दो सिधा ‘अत्याधुनिक हाइवे’ नै हुने बताइएको छ । सडक सिधा बनाउन नै ७६ किलोमिटर सडकमा झन्डै १० किलोमिटर पुल नै बन्न लागेको सेनाले जनाएको छ । तर यो डीपीआर नहुँदा यसमा समेत परिवर्तन आउने उनीहरू बताउँछन् । पछिल्लो समय सेना आफैंले समय अपुग हुनसक्ने धारणा अनौपचारिक रूपमा ब्यक्त गर्न थालेको छ । ‘डीपीआर पनि बनाउनुपर्ने भयो भने तोकिएको समयमा काम सकिँदैन तर पाएको जिम्मेवारी सेनाले पूरा गर्नेछ,’ एक अधिकारीले भने ।

    गत वैशाख २३ मा पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदले द्रुत मार्गको जिम्मा सेनालाई दिँदै शिलान्याससमेत गरेका थिए । सेनाको युद्धकार्य महानिर्देशक, इन्जिनियरिङ महाशाखा प्रमुख, भौतिक पूर्वाधार तथा यातायात, अर्थ र रक्षा मन्त्रालयका सहसचिवसमेत सदस्य रहने समितिले यसको अनुगमन गर्ने र कामहरूको सुझाव दिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij