प्रकाशित मिति : शुक्रबार, जेष्ठ ४, २०७५

उत्तर कोरियाले अमेरिकी रवैयाप्रति आशंका गर्दै शिखर वार्ता रद्द हुन सक्ने चेतावनी दिएको छ । यसले के होला भन्ने चासो विश्वव्यापी रुपमा बढेको छ ।
उत्तर कोरियासँगको वार्ता सफल भएमा कुन मोडलमा शान्ति प्रक्रिया टुंगिएला भन्ने विषयले पनि अहिले चर्चा पाएको छ । खासगरी अमेरिकी राष्ट्रिय सुरक्षा सलहकार जोन बोल्टनले उत्तर कोरियामा पनि लीबिया मोडल अपनाइने बताएपछि आशंका चुलिएको हो ।
यसप्रति उत्तर कोरियाले आपत्ति जनाएपछि स्वयं अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लीबिया मोडल अपनाउनेमा विचार गरिनसकेको भन्दै प्रष्टीकरण दिनुपरेको छ । ट्रम्पले परमाणु हतियार निशस्त्रीकरण प्रक्रियामा आएमा उत्तर कोरियाको शासक किम जोङ उन नै रहने र उनैले शासन गर्ने प्रष्ट पारेका छन् ।
सन् २००३ मा लीबियाका राष्ट्रपति मुअम्मर गद्दाफी परमाणु कार्यक्रम रद्द गर्न तयार भएपछि अमेरिकाले लीबियामाथि लगाएको प्रतिबन्ध हटाए पनि सन् २०११ मा आइपुग्दा पश्चिमी देशको समर्थनमा भएको आन्दोलनबाट सत्ता छाड्न बाध्य गद्दाफीको हत्या गरिएको थियो । (एजेन्सी)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij