प्रकाशित मिति : बिहिबार, मंसिर १३, २०७५
द हिन्दू– बुधबार भारतकी विदेशमन्त्री सुष्मा स्वराजले भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग नलिने बताएकी छन् । उनले सम्मेलनको लागि भारतीय प्रधानमन्त्रीलाई पाकिस्तानले दिएको निमन्त्रणाको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएकी हुन् ।
‘यसको जवाफ हामी सकारात्मक दिँदैनौं,’ हैदरावादमा भएको एक पत्रकार सम्मेलनमा उनले भनिन् । उनी तेलागांना विधानसभाको लागि हुन लागेको निर्वाचनको प्रचारको लागि हैदरावाद पुगेकी थिइन् । ‘पाकिस्तानले भारतमा आतकंवादी क्रियाकलापहरु नरोकेसम्म कुनै पनि सम्वाद हुनेछैन र हामी सार्क सम्मेलनमा सहभागी हुनेछैनौं,’ उनले आफ्नो विदेशमन्त्रीकालमा एकपटक पाकिस्तानको भ्रमण गरेको र सोही क्रममा आफूले बृहद द्विपक्षीय सम्वाद सुरु गरेको बताइन् । ‘तर त्यसपछि के भयो ? पठानकोट घटना भयो, युरी घटना भयो । हामीले ठूलो तस्वीर हेर्नुपर्छ ।’
पठानकोट घटना जनवरी २०१६ मा पठानकोट एयरफोर्स स्टेशनमाथि भएको आतकंवादी हमला थियो । त्यसमा आतंकवादीहरुले ठूलो हतियारको प्रयोग गरेर आक्रमण गरेका थिए । हमलामा एक सर्वसाधरण र धेरै सुरक्षाकर्मीको हत्या भएको थियो ।
‘दुई फरक कुराहरु’
मन्त्रीले करटारपुरा कोरिडोर पहल र पाकिस्तान र भारतबीच द्विपक्षीय सम्वाद फरक कुरा भएको बताइन् । भारतले धेरै वर्ष अघिदेखि पाकिस्तानको करटारपुरमा रहेको सिखहरुको पवित्र तीर्थस्थल ‘गुरुद्वारा दरबार सहिब’मा भारतीय सिखहरुलाई भिषाविना यात्रा सुविधा दिन माग गरिरहेको थियो ।
पाकिस्तान अहिले आएर यो कुरामा आफू खुसी सहमत भएको उनले बताइन् ।
‘भारत र पाकिस्तानमा रहेका दुई प्रमुख सिख तीर्थस्थलबीच सम्पर्क कायम गर्ने दुई दशक लामो माग पुरा भएकोमा हामी खुसी छौं । तर आतंक र सम्वादसँगसँगै अघि बढ्न सक्दैन’ करटारपुर कोरिडोर पहलले दुई देशबीच शान्ति ल्याउनसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले बताइन् ।
यसअघि सन् २०१६ मा भारतले समर्थन नजनाएपछि पाकिस्तानमा हुने भनिएको सार्क सम्मेलन स्थगित भएको थियो ।
१८ औं शिखर सम्मेलन २०७१ सालमा काठमाडौंमा भएको थियो । काठमाडौंमा सम्पन्न सम्मेलनले १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुने घोषणा गरेपनि भारतले अस्वीकार गर्दै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij