आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द, अझै केही दिन लम्बिने

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • वासिङटन, १२ पुस (रासस/एपी) । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटमा हस्ताक्षर नगरेका कारण सङ्घीय कार्यालयहरु अझै केही दिन आंशिक बन्द हुने सम्भावना देखिएको छ । अमेरिकी संसदले मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्न राष्ट्रपतिले आग्रह गर्नुभएको पाँच अर्ब डलर बाहेकको बजेटमात्र पारित गर्ने जानकारी गराएसँगै राष्ट्रपति ट्रम्पले बजेट स्वीकृत नगर्ने अडान लिनुभएको छ ।

    फेरि, सांसदहरु बजेट छलफल बीचमै छाडेर क्रिसमस र नयाँ वर्षको छुट्टी मनाउन वासिङटनबाट अन्यत्र हिँडिसकेका छन् । उनीहरुको भनाईमा मतदानका लागि वासिङटन फर्किन अरु २४ घण्टाको समय दिनु पर्दछ । अमेरिकी संसदको माथिल्लो सदन सिनेटको बैठक बिहीबार अपराह्नका लागि बोलाइएको छ, तर बैठकमा थोरै संख्यामा मात्र सिनेटरहरु उपस्थित हुने सम्भावना छ ।

    सङ्घीय कर्मचारीहरु पनि सप्ताहान्त र दुईवटा सार्वजनिक बिदापछि बुधबारबाट काममा फर्किएका छन् । तर कतिपय सङ्घीय कार्यालयका कर्मचारीहरु बजेट पारित नहुँदा नराम्रोसँग प्रभावित भएका छन् ।

    राष्ट्रपति ट्रम्प आफ्नो मागप्रति अविचलित हुनुहुन्छ । इराक भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले संवाददाताहरुलाई सीमा सुरक्षाका निम्ति जस्तोसुकै कदम चाल्न आफू तत्पर रहेको बताउनुभएको छ । सङ्घीय सरकारी कार्यालयहरु खुलाउन आफूले सीमा पर्खालको बजेटमा पुनर्विचार गर्न लागेको भन्ने कुरामा सत्यता नरहेको पनि उहाँले जानकारी दिनुभयो ।

    “पर्खाल बनाउनुको कुनै विकल्प नै छैन, हामी सुरक्षित पनि त हुनुप¥यो नि,” राष्ट्रपतिले भन्नुभयो ।

    बजेट अभावमा नौ वटा मन्त्रालय मातहतका विभागहरु र दर्जनौं सङ्घीय निकायहरुका काममा कठिनाई उत्पन्न भएको छ । करिब चार लाख २० हजार कर्मचारीले विना तलब काम गरिरहेका छन् भने अरु तीन लाख ८० हजारलाई बेतलबी विदा दिइएको छ ।

    ह्वाइट हाउसले कङ्ग्रेसमा डेमोक्राट पार्टीका नेताहरुसँग वार्ता गरिरहेको छ तर आशावादी हुने सङ्केत अझै मिलेको छैन ।

    वार्तामा सहभागी उत्तरी क्यारोलिना राज्यका रिपब्लीकन सांसद एवं राष्ट्रपति ट्रम्पका नजिकका व्यक्ति मार्क मिडोजले सीमा सुरक्षाका मामिलामा राष्ट्रपति ट्रम्प आफ्नो अडानमा यथावत रहनुभएको जानकारी दिनुभयो ।

    सरकारी खर्चको विषयमा उत्पन्न विवाद गत साताबाटै शुरु भएको हो । सिनेटमा रिपब्लीकन र डेमोक्राटबीच फेब्रुअरीसम्मका लागि सरकारी खर्चलाई अनुमोदन गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतामा एक अर्ब ३० करोड डलर सीमा सुरक्षा परियोजनाका लागि उपलब्ध गराउने उल्लेख थियो तर सीमामा पर्खाल बनाउन बजेट छुट्याइएको थिएन ।

    ट्रम्पको आग्रहमा तल्लो सदनले भने ५ अर्ब ७० करोड डलरको बजेट पारित गरेको थियो ।

    तर सिनेटबाट उक्त बजेट पारित गर्न रिपब्लीकन सांसदहरु पर्याप्त छैनन् । सिनेटबाट बजेट पारित हुन ६० सदस्य आवश्यक हुन्छ, जबकी सिनेटमा रिपब्लीकनको सदस्य संख्या ५१ मात्र छ । सिनेटमा डेमोक्राटहरुले पर्खाल निर्माणका लागि कुनै पनि परिस्थितिमा बजेट पारित नगर्ने अडान राखेका छन् ।

    सिनेट र ह्वाइट हाउसबीच भएको वार्ताले निष्कर्श निकाल्न नपाउँदै सरकारी कार्यालयहरु बन्द भइसकेका छन् ।

    सरकारी बजेट अभाव भएसँगै त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । शेयर बजारमा आएको गिरावट अझै रोकिएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij