प्रकाशित मिति : शुक्रबार, माघ ४, २०७५
चालु आर्थिक वर्षको पाँच महिनामा मुलुकको शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोड रुपैयाँ घाटामा गएको छ। मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति घाटामा देखिएको हो।
यस्तो घाटा बढ्दै गएको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तीय विवरणअनुसार साउनदेखि कात्तिकसम्म शोधनान्तर घाटा ५७ अर्ब थियो। एक महिनाकै अवधिमा अर्थात मंसिरसम्म आउँदा २८ अर्ब घाटा थपिएको छ।
अघिल्लो वर्षको यसै अवधिमा यस्तो घाटा ५ अर्ब ४८ करोड थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनामा ५ करोड ३९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड १ लाखले घाटामा छ।
समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ६ अर्ब ७८ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब १२ करोड रहेको थियो। मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी बढ्न नसक्नु र व्यापार घाटा चुलिँदै गर्दा समग्र शोधनान्तर स्थितिमा असर परेको हो।
त्यस्तै मूल्यबृद्धि भने यस अवधिमा घटेको छ। साउनदेखि मंसिरसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सीमान्त रुपले मात्र बढेको कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यून रहेको राष्ट्र बैंकले औंल्याएको छ।
मुद्रास्फीति हिमालमा ४.१ प्रतिशत, पहाडमा ३.८ प्रतिशत, काठमाडौं उपत्यकामा ३.७ प्रतिशत र तराईमा ३.७ प्रतिशत रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij