प्रकाशित मिति : बिहिबार, फाल्गुन १६, २०७५
काएरो, इजिप्ट । इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन्।
राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ साथै रेलको इन्धन ट्याङ्की विस्फोट भई आगलागी हुँदा २० जनाको मृत्यु भएको र केही यात्रु आगोले जलेर घाइते भएका कारण मृतक सङ्ख्या थप बढ्न सक्ने काएरो रेलमार्गस्थित एक अस्पतालका प्रमुख मोहम्मद सैयदलाई उद्धृत गरी कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ।
प्रारम्भिक जानकारी अनुसार तीब्र गतिमा रहेको रेल अचानक दुर्घटनाग्रस्त हुँदा इन्धन ट्याङ्कीमा आगलागी पछि विस्फोट भएको थियो।
दुर्घटनामा घाइते करिब ४० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यसैबीच इजिप्टका यातायात मन्त्रीले राजधानीको केन्द्रीय रेल स्टेसननजिकै भएको दुर्घटनालाई लिएर राजीनामा दिएको मन्त्री परिषद्ले जनाएको छ।
“यातायात मन्त्री हिसाम अराफातले रेल दुर्घटनापछि आफ्नो राजीनामा दिएका छन् भने प्रधानमन्त्रीले उनको राजीनामा स्वीकृत गरेका छन्,” मन्त्रीपरिषद्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij