प्रकाशित मिति : आइतवार, फाल्गुन २६, २०७५
प्योङयाङ (बीबीसी) । उत्तर कोरियालीहरू देशको संसदीय मतदानमा सहभागी भइरहेका छन् । यो किम जङ–अनले सत्ता सम्हालेपछि भएको यस्तो प्रकारको दोस्रो चुनाव हो ।
सुप्रिम पिपल्स् असेम्ब्ली (एसपीए) भनिने सर्वोच्च जनसभामा सदस्यहरूले अनिवार्य रूपमा मतदान गर्नुपर्छ । तर मतदाताहरूले उम्मेदवार छान्न पाउँदैनन् । कुनै पनि प्रकारको विरोध सह्य हुँदैन । मतदानमा प्रायशः करिब १०० प्रतिशत मतदाता सहभागी हुन्छन् र सबैले सत्तारुढ गठबन्धनलाई सर्वसम्मत रूपमा समर्थन गर्दछन् ।
उत्तर कोरिया किम परिवारको वंशले शासन गरेको एक्लो देश हो। त्यहाँका नागरिकहरूलाई किम परिवार र वर्तमान नेताप्रति भक्तिभाव देखाउन बाध्य तुल्याइन्छ । चुनावको दिन १७ वर्ष उमेर पुगेका र त्योभन्दा माथि उमेरका सबै नागरिकलाई मतदान गर्न आह्वान गरिन्छ ।
“सत्ता र सरकारप्रतिको बफादारी देखाउन मतदाताहरू बिहान सबेरै मतदान केन्द्रमा जाने गर्दछन् । त्यसको कारण के हो भने मतदाताहरूको लाइन लामो हुने गर्दछ,’ दक्षिण कोरियाको सोलस्थित उत्तर कोरिया विश्लेषक फ्योडोर टेर्टिस्की भन्छन् ।
आफ्नो पालो आएपछि मतदाताले मतपत्र पाउँछन् र त्यसमा एउटा मात्र नाम हुने गर्दछ । त्यहाँ मत चिह्न लगाउने कुनै स्थान हुँदैन । टिक लगाउने कुनै कोष्ठ पनि हुँदैन । त्यसपछि त्यो मतपत्रलाई मतपेटिकामा हालिन्छ जुन सबैले देख्ने ठाउँमा राखिएको हुन्छ ।
मतदान स्थलमा गोप्य मतदान गर्ने व्यवस्था पनि हुन्छ, तर विश्लेषकहरू भन्छन्, गोप्य मतदान गर्दा मानिसहरू तुरुन्तै शङ्कालु बनिहाल्छन् । त्यसो गर्ने अधिकार मतदाताहरूसँग हुन्छ । तर टेर्टिस्की भन्छन्, त्यसो गर्ने बित्तिकै प्रहरी गुप्तचरले समातेर मतदातालाई पागल भन्न सक्ने सम्भावना हुन्छ ।

मतदानस्थल छोडेपछि मतदाताहरूलाई देशको नयाँ नेतृत्व चयनको लागि मतदान गर्न सफल भएको भन्दै बाहिर उपस्थित भिडले मतदातालाई स्वागत गर्दै बधाई दिने गर्दछ ।
“सरकारी सञ्चारमाध्यमले चुनावलाई उत्सव जस्तै गरी प्रस्तुत गर्ने गर्छन्,’ उत्तर कोरियाबारेको समाचार सम्प्रेषण गर्ने एनके न्यूजकी विश्लेषक भन्छिन् ।
निर्वाचन अनिवार्य हुने हुनाले त्यस्को परिणामबाट अधिकारीहरूले जनगणनाका बेला सङ्कलन गरिने जस्तै तथ्याङ्क पनि बटुल्ने गर्दछन् । यही बेला अधिकारीहरूले यदि कोही भागेर चीन गएको छ कि छैन भनेर पनि थाहा पाउने गर्दछन् ।
सुप्रिम पिपल्स् असेम्ब्ली (एसपीए) भनिने सर्वोच्च जनसभाको चुनाव प्रत्येक पाँच वर्षमा हुने गर्दछ । तर त्यो सँग कुनै शक्ति हुँदैन । टेर्टिस्कीको भनाइमा “सर्वोच्च जनसभाको अधिकार शून्य जस्तै हुन्छ ।’
उत्तर कोरियाको कानुन पार्टीको संयन्त्रले बनाउने गर्दछ । एसपीएले चाहिँ तिनलाई पारित गर्ने औपचारिक भूमिका मात्र निभाउँछन् ।
उत्तर कोरियामा एक मात्र दल छ भनी ठान्नु गलत हो । वास्तवमा त्यहाँको संसद्मा तीनवटा समूह रहेका छन् । किम जङ अन नेतृत्वको वर्कर्स पार्टी सबैभन्दा ठूलो दल हो । तर केही सिट सोसल डिमोक्रयाटिक पार्टी र चान्दोइस्ट जोङ्गु पार्टीलाई पनि छुट्याइएको हुन्छ ।

व्यवहारमा चाहिँ ती तीन दलबीच केही फरक हुँदैन । उनीहरूलाई सँगै मिलाएर कोरियाली एकीकरणका लागि डिमोक्र्याटिक फ्रन्ट भनिने अर्को मोर्चा बनाइएको छ । मतपरिणामको प्रतीक्षा व्यग्र हुने गर्दछ । तर त्यसको लागि केही दिन लाग्छ ।
पहिला कति मतदाता सहभागी भए भनेर हिसाब निकालिन्छ । सन् २०१४मा ९९.९७ प्रतिशत मतदाता संसदीय चुनावमा सहभागी भएका थिए । केहीले बिरामी वा अशक्तताका कारण मत दिन नपाएका हुन सक्छन् ।

तर उत्तर कोरियामा के भन्ने गरिन्छ भने चुनावको दिन कोही पनि बिरामी हुँदैन र कसैको मृत्यु पनि हुँदैन । अर्को चरणमा नेता किमको चुनाव क्षेत्रको परिणाम सार्वजनिक गरिन्छ । त्यसक्रममा उनलाई प्राप्त समर्थन र मतदाता सहभागिता सार्वजनिक गरिन्छ।
सामान्यतया त्यो १०० प्रतिशत हुने गर्दछ । अन्त्यमा अन्य निर्वाचन क्षेत्रको परिणाम घोषणा गरिन्छ । मतदाता सहभागिता थोरै तलमाथि हुने नै भयो । तर परिणाम उस्तै हुन्छ यदि पहिलेका चुनावको परिणामलाई आधार मान्ने हो भने राजनीतिक समर्थन १०० प्रतिशत हुने गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij