आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चीन र अमेरिकाबीच तिब्र व्यापार युद्ध

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६



  • वाशिंगटन (एजेन्सी) । पहिलो र दोस्रो अर्थतन्त्र भएका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीच तिब्र व्यापार युद्ध शुरु भएको छ । एकअर्काले एकअर्काका सामानमाथि उच्च भन्सार कर लगाउँदै व्यापार युद्ध छेडेका हुन् । यो व्यापार युद्ध अझै चर्कने संकेतहरु देखिएका छन् । अमेरिका र चीनबीच व्यापार युद्ध चर्केसँगै त्यसका प्रभावहरु पनि देखिन थालेका छन् । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक हो भने चीन दोस्रो स्थानमा छ ।

    ६० अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने चिनियाँ घोषणापछि अमेरिकाका शेयर बजारमा त्यसको असर देखिएको छ । चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ । अमेरिकी निर्णय आएको तीन दिनपछि चीनले आगामी जुन १ देखि लागु हुनेगरी ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाउने घोषणा गरेको छ । गत शुक्रवार अमेरिकाले २०० अर्ब डलर बराबरका सामानमा थप कर लगाउने घोषणा गरेको थियो । त्यसको असर अहिले अमेरिकी शेयर बजारमा परेको छ । त्यहाँ पछिल्लो कारोबारको क्रममा डाउ जोन्स छ सय भन्दा कम बिन्दुमा आएर रोकिएको छ ।

    कर नबढाउन अमेरिकी राष्ट्रपतिले दिएको चेतावनीलाई चीनले बेवास्ता गरेको छ । उसले मासु, सागसब्जी, फलफूलको रस, खाने तेल, चिया र कफीजस्ता पाँच हजार जति अमेरिकी सामानमा पाँचदेखि २५ प्रतिशतसम्म कर थप्ने निर्णय गरेको छ । चीन र अमेरिकाबीच चर्किएको व्यापारिक तनावबारे चिन्ता बढ्दै गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ सो विषयमा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग अर्को महिना छलफल हुन सक्ने बताएका छन् । दुई नेताबीच अर्को महिना जापानमा हुने जी–२० समूहको बैठकमा भेट हुने कार्यक्रम छ ।

    त्यसअघि ट्रम्पले चीनले अमेरिकाबाट धेरै रकम लगिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘चीनले अमेरिकाबाट निकै धेरै फाइदा लिँदै आएको छ । ओबामाको शासनकालभन्दा पनि पहिलेदेखि नै त्यस्तो हुँदै आएको थियो । अहिले पनि चीनले वर्षमा ४०० देखि ६०० अर्ब डलर अमेरिकाबाहिर लगिरहेको छ । अब हामी त्यस्तो हुन दिने छैनौँ ।’ बेइजिङले अमेरिकी कदमको प्रतिक्रियास्वरूप त्यस्तै निर्णय गर्न आफू बाध्य भएको बताएको छ । शुक्रवार अमेरिकाले २०० अर्ब डलरको चिनियाँ सामानमा दुई गुणाभन्दा बढीले कर लगाउने घोषणा गरेको थियो । गत साता दुई देशबीचको व्यापार वार्ता विफल भएपछि पछिल्लो तनाव बढेको हो ।

    अमेरिका र चीनबीच व्यापार तनाव गएको वर्षदेखि नै जारी छ । खास गरी अमेरिकाले चिनियाँ दुरसञ्चार कम्पनी हुवावेका उत्पादनमाथि जासुसीको आरोपमा प्रतिबन्ध लगाएपछि तनाव शुरु भएको हो । अमेरिकाले हुवावेका उत्पादनलाई आफ्नो मुलुकमात्र प्रतिबन्ध लगाएन आफ्ना सहयोगी राष्ट्रहरुलाई पनि सतर्क रहन भन्यो । जसको कारण संसारकै नेतृत्वकर्ता दुर सञ्चार कम्पनी हुवावेको बजार खस्किएको छ । त्यसको बदलामा चीनले अमेरिकमा उत्पदान हुने भटमासमा प्रतिबन्ध लगाएपछि तनाव थप चर्किएको थियो । तर, यहीबीचमा दुई देशबीच व्यापार वार्ता पनि शुरु भयो र तीन महिनाका लागि व्यापार युद्धविराम गरियो । ११ चरणसम्म भएको व्यापार वार्तामा कुनै प्रगति नभएपछि फेरि व्यापार युद्ध चर्केको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij