मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मुक्तिनाथमा भारतीय तीर्थयात्रीको सङ्ख्यामा वृद्धि

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २२, २०७६



  • बागलुङ । पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् ।

    सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो । सन् २०१९ को पाँच महीनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार मे महीनामा मात्र नौ हजार ३७२ मुक्तिनाथ आएका थिए ।

    दोस्रो पर्यटकीय यामसम्ममा भारतीय तीर्थयात्रीको सङ्ख्या गत वर्षभन्दा धेरैले बढ्ने अनुमान गरिएको छ । “मुख्य याममा दैनिक ३०० सम्म भारतीय पर्यटक मुस्ताङ छिर्छन्”, कार्यालयका पर्यटन सहायक शिव पुर्जाले भने । मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् ।

    मुक्तिनाथ दर्शनले मोक्ष प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । हिन्दू धर्म मान्ने भारतीयले मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् ।

    पछिल्ला आठ वर्षमा डेढ लाख बढी भारतीय तीर्थयात्रीले मुक्तिनाथ क्षेत्र घुमेको आँकडा छ । भूकम्प गएको वर्ष सन् २०१५ मा सबैभन्दा कम आठ हजार ४५९ ले मुक्तिनाथ भ्रमण गरेका थिए । “भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि भारतीय तीर्थयात्री झन् बढेका हुन्”, मुक्तिनाथ मन्दिरका पुजारी कृष्ण सुवेदीले भभने । गत वर्ष वैशाखमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेका थिए ।

    मुक्तिनाथ हिन्दू र बौद्धमार्गी दुवैको आस्थाको केन्द्र मानिन्छ । मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र र बौद्धमार्गीले तिब्बती भाषामा (छुमिङ ग्यात्सा) अर्थात् सय पानीका रुपमा लिन्छन् । मुक्तिनाथ मन्दिर शालिग्राम भगवानका कारण पनि प्रसिद्ध छ ।

    मुक्तिक्षेत्र भएर बहने कालीगण्डकी नदीमा मात्र पाइने पवित्र शिला शालिग्रामलाई विष्णु भगवान्को प्रतीकका रुपमा पुज्ने गरिन्छ । मुक्तिनाथकै बाटो भएर बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्म प्रचारको लागि तिब्बत गएको हुँदा मुक्तिनाथ बौद्धको पनि तीर्थस्थलका रुपमा प्रसिद्ध छ ।

    वर्षेनी असोज–मङ्सिर र चैत–जेठ गरी दुई याममा मुक्तिनाथमा पर्यटक र तीर्थयात्रीको घुइँचो लाग्छ । अन्य सयममा भने पर्यटक न्यून देखिन्छन् । मुक्तिनाथ मन्दिरको दर्शनसँगै मुस्ताङको प्राकृतिक सुन्दरताले पनि पर्यटकलाई लोभ्याउँछ ।

    संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्नपूर्ण चक्रीय पदमार्ग क्षेत्रमा पर्ने भएकाले पनि मुक्तिनाथ बढी चर्चित छ । मुस्ताङ र मनाङ जोड्ने थोरङ्ला भञ्ज्याङ पार गर्ने पर्यटक पनि मुक्तिनाथ भएर आउजाउ गर्छन् ।

    बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले सडक र अन्य सुविधाले पर्यटक बढेको बताए । “मुक्तिनाथको विकासमा अझ धेरै गर्न बाँकी छ” उनले भने, “यसका लागि राज्यकै ध्यान जानुपर्छ ।”

    मुक्तिनाथ क्षेत्रको एकीकृत विकासका लागि गुरुयोजना बनाउने काम पनि अघि बढाइएको छ । पोखरादेखि हवाई र सडकमार्ग हुँदै मुक्तिनाथ पुग्न सकिन्छ । मुक्तिनाथ समुद्री सतहदेखि तीन हजार ८०० मिटर उचाइमा अवस्थित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij