प्रकाशित मिति : बुधबार, जेष्ठ २२, २०७६
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बुधबार नै नेपालमा रिलिज गर्न दिन अन्तरिम आदेश जारी गरेपछि सलमान खानको फिल्म ‘भारत’ आजदेखि नै नेपालमा रिलिज भएको छ । नेपालमा विभिन्न संघसंस्थाको सहमतिमा शुक्रबार मात्रै फिल्म रिलिज गर्ने सहमति भएकोमा अदालतको यस्तो आदेशपछि फिल्म रिलिज गर्ने दिनका विषयमा फेरी विवाद बढेको छ ।
विदेशी तथा नेपाली सबै फिल्म सहमतिमा शुक्रबार रिलिज हुँदै आएका थिए तर अदालतको पछिल्लो आदेशले विदेशी फिल्म जुनसुकै बार रिलिज गर्न पाउने बाटो खुला भएको हो ।
शुक्रबार मात्र फिल्म रिलिज गर्न दिने बोर्डको निर्णयविरुद्ध जिल्ला अदालतमा वितरण कम्पनी ब्यांकटेस् इन्टरटेनमेन्टका तर्फबाट मनोज राठीको रिटमाथि सुनुवाई गर्दै अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्नसमेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ ।
यसअघि हिन्दी फिल्म ‘कलंक’ पनि बुधबार नै रिलिज गर्न खोज्दा विकास बोर्डको पहलमा शुक्रबार मात्रै रिलिज गर्न दिइएको थियो ।
अदालतको आदेशपछि सलमान खान स्टारर हिन्दी फिल्म ‘भारत’ बुधबारदेखि अर्थात आजदेखि नेपालमा पनि रिलिज भएको छ । यसको असर रिलिज भएका नेपाली फिल्ममा पर्नेछ । नेपाली फिल्म ‘जात्रै जात्रा’ र ‘कुम्भ करण’का शोहरू मल्टिप्लेक्सबाट कटौती हुने देखिएको छ ।
यसैबीच चलचित्र निर्माता संघले विज्ञप्ति जारी गर्दै वितरकले जुनसुकै बार विदेशी चलचित्र रिलिज गर्न दिएको आदेशप्रति असन्तुष्टि जनाएको छ । संघका महासचिव रोज राणाले जारी गरेको विज्ञप्तिमा नेपालका चारवटा ठूला चाडपर्व (दसैं, तिहार, तीज र नयाँ वर्ष)का निश्चित बिदाका दिनबाहेक अन्य मितिमा अनिवार्य रूपमा शुक्रबार मात्र फिल्म प्रदर्शन गरिनुपर्ने नियम र पद्धति रहेकोमा शुक्रबारअगावै विदेशी फिल्म प्रदर्शन हुन लागेकोमा यस विषयमा संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विदेशी फिल्म फिक्समा ल्याएर नेपालमा जुनसुकै दिन रिलिज गर्न पाउनुपर्ने वितरक र हलवालाको तर्क छ । विदेशी फिल्म रिलिजबारेमा स्पष्ट नीति नहुदा यस्तो समस्या आएको फिल्म निर्माताहरुले बताएका छन् ।
प्रदर्शन र वितरणको विषयमा चलचित्र संघ र निर्माता संघको सम्झौताअनुसार अघि बढ्दै आएको भएपनि त्यो सम्झौतापत्रमा पनि विदेशी फिल्मको विषयमा भने पटक पटक उलंघन हुदै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij