प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६
काठमाडौं । काठमाडौं, सल्यान, बर्दिया, रौतहट, गुल्मी र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
काठमाडौं महानगरपालिका–११ माइतीघर मण्डलामा बा १७ च ४३८४ नम्बरको जीपमा बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल शुक्रबार राति पछाडिबाट ठक्कर खाँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौं बानेश्वर बस्ने २३ वर्षीय आयुषराज पाण्डेको नर्भिक अस्पताल थापाथलीमा उपचारको क्रममा मृत्यु भएको छ।
मोटरसाइकलमा सवार काठमाडौं नयाँ बसपार्क बस्ने तेह्रथुम आठराई गाउँपालिका घर भएका २२ वर्षीय सन्तोष भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै सल्यानको त्रिवणी गाउँपालिका ३ ढुङ्गे बगरमा रा १ त २२६९ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय केदार खड्काको घट्नास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका सहचालक सोही ठाउँ बस्ने १८ वर्षीय जीवन भण्डारी समेत २ जनालाई उपचारको लागि कान्तिपुर अस्पताल श्रीनगर लगिएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै बर्दियाको गुलरिया नगरपालिका ९ डब्बास्थित सडकमा भे १ त ५७५२ नम्बरको ट्याक्टरको ट्रली शुक्रबार राति पल्टँदा चोट लागेर गम्भीर घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ९ वर्षीया सुमन लोधको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य १४ जनामध्ये ८ जनाको नर्सिङ होम नेपालगंजमा र ६ जनाको जिल्ला अस्पताल गुलरीयामा उपचार भइरहेको छ। ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।
त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गको लच्का नजिकै ना ४ च ८३९४ नम्बरको पिकअप जीप शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका बारा जितपुर सिमरा उपमहानगरपालिका ७ बस्ने ४२ वर्षीय बृजकिशोर साहलाई चन्द्रपुर अस्पताल हुँदै न्यूरो अस्पताल बीरगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ। जिप नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।
त्यस्तै गुल्मीको रेसुङगा नगरपालिका १३ भगेरीस्थित सडकमा लु ४ त २८४६ नम्बरको ट्याक्टर शनिबार बिहान सडकबाट करिब २ सय मिटर तल खस्न गई दुर्घटना हुँदा चालक नवलपरासी सुनवल नगरपालिका बस्ने २१ वर्षीय अम्मर बहादुर कुमालको घटनास्थलमै मृत्यु भएको छ।
त्यस्तै झापाको बिर्तामोडमा पनि सवारी दुर्घटना भएको छ। जिल्लाको बिर्तामोड नगरपालिका २ राम चोकमा को १ च ६२१९ नम्बरको कारलाई को ११ प ६३३७ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मे १० प ५१९९ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई भएको दुर्घटनामा गम्भीर घाइते भएका को ११ प ६३३७ नम्बरको मोटरसाइकलका चालक गौरादह नगरपालिका ५ बस्ने ३० वर्षीय टेकनाथ घिमिरेको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ३ वटै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनास्थलमा स्थानीय प्रहरीले आवश्यक उद्धार गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij