सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

निर्माणाधिन आयोजना पूरा नहुँदा खलङ्गामा खानेपानी हाहाकार

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६



  • जाजरकोट । यहाँको सदरमुकाम खलङ्गामा पिउनेपानीको हाहाकार छ। गर्मीयाममा पानीका मुहान सुक्ने, सदरमुकाम आसपासमा रहेका पानीका मुहानको मर्मतसम्भार तथा संरक्षणको अभावले सदरमुकाम खलङ्गामा खानेपानीको हाहाकार भएको हो।

    जाजरकोटी राजा जङ्गबहादुर शाहका कान्छा छोरा हरिविक्रम शाहकी छोरी बालकुमारी शाहको अनुरोधमा विसं १९८४ मा निर्माण गरिएको बुदबुदी–खलङ्गा खानेपानी आयोजनाको भरमा सदरमुकाम खलङ्गा रहँदै आएको थियो।

    निरन्तर जनसङ्ख्या वृद्धि भएपछि यहाँ पिउनेपानीको कमी भई मौजुदा स्रोतले धान्न नसकेको हो। खलङ्गाका होटल, विद्यालय अस्पताल, सरकारी कार्यालय र निजी डेरा गरी बस्ने नागरिकले खानेपानीको समस्या झेल्नुपर्ने अवस्था रहेको नागरिक अगुवा केशवजङ्ग शाहले बताए।

    खानेपानी अभावले जिल्ला सदरमुकाम खलङ्गाभित्र सञ्चालनमा रहेका होटल व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यवसायी वीरबहादुर खड्काले बताए। खलङ्गा बजारभित्र दुई दर्जनभन्दा बढी होटल व्यवसायी रहेको बताउँदै खड्काले बुदबुदी खानेपानी आयोजनाको विकल्पको खोजी गर्नुपर्ने बताए।

    बालकुमारी शाहको विवाह विसं १९६५ मा श्री ३ चन्द्रशम्शेर राणासँग भएको थियो। विसं १९८४ मा बुदबुदी–खलङ्गा खानेपानी आयोजनाको निर्माण सम्पन्न भएपछि खलङ्गामा चौबिसै घण्टा आउने १० वटा कलधारा सञ्चालनमा ल्याइएको थियो।

    त्यतिबेला निर्माण गरिएका सदरमुकामका कतिपय धारा हटाइएको भए तापनि बुदबुदी क्षेत्रमा निर्माण गरिएका खानेपानीका ट्याङ्कीको मर्मतसम्भार तथा संरक्षणको अभावमा जीर्ण बन्दै गएपछि खानेपानीको अभाव हुन थालेको हो।

    सदरमुकाम खलङ्गाभित्र खानेपानी अभावको समस्या समाधान गर्न २०७४ साल असारदेखि निर्माणकार्य शुरु गरिएको खलङ्गा सहलगानी खानेपानी आयोजना निर्धारित समयमा बन्न नसक्ने भएको छ।

    पोखरादेखि खलङ्गासम्म १८ किलोमिटर लम्बाइ रहेको खलङ्गा सहलगानी खानेपानी आयोजना निर्माण कार्यको जिम्मा लुम्बिनी, केशव शाह जेभी नौबस्ता बाँकेले लिएको सङ्घीय खानेपानी आयोजना कार्यालय, सुर्खेतका प्रमुख पूर्णबहादुर ज्वारचनले बताए।

    सहलगानी खानेपानी आयोजना निर्माणका लागि रु १२ करोड ३० लाख रकममा सम्झौता गरेको लुम्बिनी, केशव शाह जेभीले हालसम्म ६० प्रतिशत काम सम्पन्न गरेको कार्यालय प्रमुख ज्वारचनले बताए।

    यहाँका अनुसार १८ किलोमिटर पाइपलाइनको काम सम्पन्न भएको छ, पानी प्रशोधन केन्द्र निर्माणको काम सम्पन्न भएको छ। तीन सय घनमिटर तीन लाख लिटर क्षमता भएको ट्याङ्की निर्माण भएको छ। खानेपानी आयोजनाको इकाइ कार्यालय भवन निर्माण सम्पन्न भएको छ।

    विसं २०७६ असार २५ गतेभित्र काम सम्पन्न गरिसक्ने भनेर सम्झौता–पत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनीले क्रमश ९०, ८० र ३० घनामिटरका तीन वटा ट्याङ्की निर्माण, मुख्य तथा वितरण पाइपलाइन र धारा निर्माणको पूरै काम गर्न बाँकी रहेको बताइको छ।

    ९९७ घरधुरी समेटिएको उक्त सहलगानी खानेपानी आयोजनामा उपभोक्तले गर्नुपर्ने २२ प्रतिशत श्रमदानको काम पूरै बाँकी रहेको बताउँदै खलङ्गा सहलगानी खानेपानी आयोजनाका अध्यक्ष वसन्तप्रसाद शर्माले आयोजनाको कूल रकमको तीन प्रतिशत रकम उपभोक्ताले समपूरक कोषका रुपमा जम्मा गर्नुपर्ने बताए।

    उक्त आयोजनाका लागि यस वर्ष कर्णाली प्रदेश सरकारबाट आएको ८० लाख अनुदान र भेरी नगरपालिकाले दिएको ३५ लाख अनुदान खर्च हुननसकेको अध्यक्ष शर्माले जानकारी दिए। उपभोक्ताका तर्फबाट निर्माण गर्नुपर्ने १२० घनामिटरको एक र अर्को १७० घनामिटरको दुईवटा ट्याङ्की निर्माण गर्ने स्थलका बारेमा उपभोक्ताबीच कुरा मिल्न नसकेपछि प्रदेश र नगरपालिकाबाट प्राप्त अनुदानलाई खर्च गर्न नसक्ने अवस्था सिर्जना भएको अध्यक्ष शर्माले बताए।

    निर्माण कार्य ढिलाइ हुनुमा आयोजनाको ‘सर्वे डिजाइन’ अनुसारको बोलपत्र डिजाइन हुन नसक्नु, आयोजना सर्वे गर्दा रिजर्भ ट्याङ्की निर्माणस्थल किटान नगरिनु, कर्मचारी समायोजन–विषयगत कार्यालय परिवर्तन हुनु, उपभोक्ताले गर्नुपर्ने श्रमदान अनुसारको काम नगर्नुलगायतका कारण रहेको कार्यालय प्रमुख ज्वारचनले बताए।

    प्रमुख ज्वारचनका अनुसार खलङ्गा सहलगानी खानेपानी आयोजना पाँच प्रतिशत सवसिडी अनुदान पाएको भए तापनि सुक्खा आयोजनामा पर्न नसक्नुले पनि निर्माण कार्यमा ढिलाइ भएको छ भने निर्माण कार्यको जिम्मा लिएको निर्माण कम्पनीको ढिलाइका कारण पनि आयोजनाले गति लिन सकिरहेको छैन्।

    पाँच करोडभन्दा बढी भुक्तानी लिइसकेको निर्माण कम्पनीले गरेको कार्यप्रगति ६० प्रतिशत मात्र छ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij