प्रकाशित मिति : शनिबार, असार ७, २०७६
(बागलुङ) — ग्रामीण बस्तीमा मात्र नभई सदरमुकाममा समेत बालविवाह रोकिएको छैन । बिहे गर्न उमेर २० वर्ष पुग्नुपर्ने नियम छ । कतिपय जोडीको उमेर नपुग्दै सम्बन्धविच्छेद हुने गरेको छ । सचेतनाका लागि गाउँपालिकाले बालविवाहविरूद्ध डकुमेन्ट्रीसमेत बनाएर प्रदर्शनी गर्न थालेको छ ।
आफ्नै फुपूले फकाएर तमानखोला गापा–२ की सुनीता गोतामेको १३ वर्षकै उमेरमा बिहे गराइदिइन् । ५ कक्षामा पढ्दै गरेकी उनले बिहे के हो भन्ने बुझेकी पनि थिइनन् । तीन वर्षमै पतिले दोस्रो बिहे गरे । उनले १६ वर्षकै उमेरमा सम्बन्धविच्छेद गरिन् ।
इन्सेकको मानव अधिकार वर्ष पुस्तक २०१९ मा बालविवाह: बागलुङे देहातको पीडा भनेर एउटा रिपोर्ट प्रकाशित छ । रिपोर्टअनुसार तमानखोलाकै १४ वर्षीया नरमा सिर्पालीले बाबुको वचन राख्न बिहे गरिन् तर बिहेलगत्तै उनलाई सासूससुराले गालीगलौज गर्न थाले । श्रीमान्ले पनि वास्ता गरेनन् । अहिले उनी माइतीमा बस्दै आएकी छन् । त्यहाँ पनि उनले विभिन्न लाञ्छाना बेहोर्नुपरेको छ । यी उदाहरण मात्र हुन् ।
संविधानले बालविवाहलाई अधिकार हननका रूपमा लिए पनि यस जिल्लामा भने एउटा समस्याका रूपमा विद्यमान छ । साबिकको महिला तथा बालबालिका कार्यालयले २०७४ चैतमा केही स्थानीय तहमा बालविवाहबारे अध्ययन गर्दा निसीखोला गापामा बढी बालविवाह हुने देखिएको थियो । त्यतिबेला त्यस गापामा १८ वर्षभन्दा कम उमेरमै विवाह गर्नेको संख्या १३८ थियो । त्यसमा ८३ बालिका थिए । जैमिनी नगरपालिकाको बरेङमा पनि ३६ बालक र ५९ बालिकाको विवाह भएको थियो । सदरमुकाम रहेको बागलुङ नगरपालिकाभित्रै पनि २७ बालबालिकाको विवाह भएको वर्ष पुस्तकमा उल्लेख छ तर अझ मसिनो गरी अध्ययन गर्ने हो भने बालविवाह डरलाग्दो देख्न सकिन्छ । पश्चिमी बागलुङका विभिन्न स्कुलमा विवाहित जोडी देख्न सकिन्छ । बालविवाहको यकिन तथ्यांक नभए पनि यो एउटा समस्याका रूपमा रहेको सहजै अनुमान गर्न सकिने सरोकारवाला बताउँछन् । बालकको तुलनामा बालिकाको बढी बिहे हुने गरेको छ ।
पढाइमा असर
सानै उमेरमा विवाह भएपछि पढाइ छाड्ने क्रम सबै विद्यालयमा रोग बनेको शिक्षक बताउँछन् । ‘सानो उमेरमा विवाह गर्नेको संख्या गनिसाध्य छैनन्, नानी च्यापेरै आउने पनि छन्’, शान्ति मावि खुंखानीका शिक्षक लालबहादुर छन्त्यालले भने, ‘विवाहले पढाइ बिट मार्ने, त्यसपछि मजदुरीमा लाग्ने चलन छ ।’ विवाहकै कारण एसईईमा उत्तीर्ण हुने र उच्च शिक्षामा पुग्नेहरू हातैमा गन्ने मात्र भएको उनले बताए ।
कक्षा १० मा पुग्दा एकादुईबाहेक सबै छात्राले पढाइ छाड्ने र यसको मुख्य कारण बालविवाह भएको देवीस्थानकी शिक्षिका मिलकुमारी केसी बताउँछिन् । ‘अभिभावकले स्वीकृति दिएपछि बालविवाहको विकृति बढेको छ,’ उनले भनिन्, ‘बाबुआमाको पालादेखि कलिलै उमेरमा विवाह गर्ने, एउटा छोडेर दोस्रो विवाह गर्दा स्विकार्ने समाजले न्यूनीकरणभन्दा बढ्दो छ ।’ सानै उमेरमा बिहे गरी पठाइदिँदा माइतीमा बोझ कम हुने, छोरीकै कारणले समाजमा बदनाम हुने त्रास र कतिपय अवस्थामा बाध्यतावश बालविवाह गर्ने चलन रहेको अगुवा बताउँछन् ।
निसीखोला गाउँपालिका–२ की पुतली केसी र सुन्तली कार्कीले कक्षा ८ मा पढ्दा विवाह गरेपछि विद्यालय आउन छाडे । अहिले उनीहरू बुर्तिबाङ बजारमा मजदुरी गरेर बस्छन् । ढोरपाटन–७ की अमृता बिक पनि कक्षा ९ मा पढ्दा पढ्दै विद्यालय आउन छाडिन् । बुझ्दै जाँदा विवाह गरेको कारण पत्ता लागेको ज्ञानोदय माविकी शिक्षक तिर्सना घर्तीले बताइन् । ‘उनीजस्तै धेरै छात्रा विवाह गरेपछि विद्यालय छाड्छन्,’ घर्तीले भनिन् । एक वर्षको अवधिमा ६ विद्यार्थीले विवाह गरेका कारण विद्यालय छाडेको उनले बताइन् । बालविवाह रोक्न खोजे पनि अभिभावक मौन बसिदिँदा रोक्न नसकेको घर्ती बताउँछिन् । ‘पाँच वर्ष अघिझैं हरेक कक्षामा विवाह हुने समस्या कम भएको छ,’ उनले भनिन्, ‘कक्षा ८ र ९ मा यो दर बढी छ ।’
पशु चराउने र खेतीपातीका कामले उनलाई फुर्सद छैन । बिरामी पर्दा बुर्तिबाङ झर्नुपर्ने बाध्यता छ । ढोरपाटन नगरपालिका–८ की ४५ वर्षीया भगीमला विक निरन्तर बिरामी भइरहन्छिन् । उनको १५ वर्षमै बिहे भयो । सानै उमेरमा छोराछोरी जन्माइन् । त्यसैको कारण स्वास्थ्यमा समस्या आयो । उमेर नपुगी विवाह गरेको र स्वास्थ्य संस्थामा जाँच नगर्दा उनको जीवन कष्टकर बनेको अहिले बुझ्दै छिन् । दैनिक ज्यालामजदुरी, खेती, वनपात र गाईभैंसीको स्याहारमा दैनिक खट्दा उनी बिरामी परिरहन्छिन् ।
पछुताउने धेरै
तमानखोला–५ की सेमला सेन्चुरीले उमेर नपुगी विवाह गरेकामा पछुतो मानेकी छन् । उनी पेट र ढाड दुख्ने समस्याले पीडित छन् । ‘पहिला बाल विवाहबारे थाहा भएन, बिस्तारै बालविवाह र सानैमा बच्चा जन्माउँदाको कारण थाहा पाए,’ उनले भनिन् । १३ वर्षमा विवाह गरेर २१ वर्ष उमेर पुग्दा ३ सन्तानकी आमा भइसकेकी थिइन् उनी । उनले आफ्नो पीडा छोराछोरीलाई सम्झाएर बालविवाह नगर्न सुझाउन थालेकी छन् । नजिकमा विद्यालय नभएकाले पढ्न नपाएको, जोखिमबारे जानकारी नपाएपछि सानै उमेरमा विवाह गरेको र अभिभावकको बेवास्ताले समस्या भोगेको उनको अनुभव छ । ‘यसअघि धेरै महिलाले उपचार गर्न जानै नसकेर ज्यान गुमाए’ सेन्चुरी भन्छिन्, ‘बाटाको समस्याले अर्काको पिठ्युँमा बोकिएर जानुपरेकाले जानै नमानेर पनि मृत्यु भयो ।’
अधिकांश महिलाको स्वास्थ्य समस्या हुनुमा बालविवाह भएको पत्ता लागेपछि गाउँपालिकाले रोक्ने अभियान थालेका छन । तमानखोला गाउँपालिकाले बालविवाह बदरको नीति पनि बनाएको छ । बालविवाह भएमा गापाबाट उपलब्ध सेवासुविधा नदिने अध्यक्ष जोकलाल बुढाले बताए । ‘गाउँमा बालविवाहको चर्को समस्या छ । केही विवाह बदर पनि गराएका छौं’ बुढाले भने, ‘विवाह भनेको २० वर्ष काटेपछि मात्र गर्नुपर्छ भन्ने सन्देश दिनका लागि बदर गराएका हौं ।’ तमानखोला चालु वर्ष १८ बालविवाह बदर गरेको छ । न्यायिक समितिमा आएका ३८ वटामध्ये १८ मुद्दा बालविवाह रहेको संयोजक मानसरी शेरचनले बताइन् । समितिमा मिल्न नसकेका ३ मुद्दा जिल्ला अदालत आएका छन् ।
संस्कारको रूप लिइसकेकाले बालविवाह गर्न हुन्न भनेर खुलेआम भन्नसक्ने अवस्थामा जनप्रतिनिधि पनि छैनन् । बदर भएका बालविवाहको विवरण पनि उनीहरू दिन सक्दैनन् । ‘धेरैको विवाह रोकियो । यसले हामीलाई धम्कीसमेत आएकाले ज्यान जोखिममा छ’ तमानखोला–५ का अध्यक्ष ताराबहादुर बिकले भने, ‘राज्यको कार्यक्रम हो भने हाम्रो सुरक्षा दिनुपर्छ, नत्र हामीले काम गर्न सक्दैनौं र नाम पनि दिन सक्दैनौं ।’ अधिकांश बालविवाह अभिभावककै सहमतिमा हुने गरेको उनले बताए । चालु वर्षमा मात्र थाहा पाएका १० बालविवाह रोकिएको अध्यक्ष बुढाले बताए । बालविवाह विरुद्ध जागरण अभियान सञ्चालन थालिएको उनको भनाइ छ । ‘सम्झाएर, भनसुन गरेर, कतिपय अवस्थामा डर पनि देखाएर बालविवाह रोक्ने प्रयास गरेका छौं’ बुढाले भने, ‘टोलटोलमा शिक्षा दिने समूह पनि बनाएर परिचालन गरेका छौं ।’ गाउँपालिकाले बालविवाहविरुद्ध डकुमेन्ट्री समेत बनाएर प्रदर्शनी गर्न थालेको छ ।
बाल विवाहबाट यहाँका खुंखानी, बुंगादोभान, खुंगा बढी प्रभावित छन् । त्यस्तै बडिगाड गाउँपालिकाको दर्लिङ, भीमगिठे, ढोरपाटन नगरपालिकाको खुंगा र बोबाङ तथा निसीखोला गाउँपालिकाको देविस्थान, निसी र बोहोरागाउँमा यो समस्या बढी छ । बालविवाहलाई समाजले मौन रूपमा स्विकारेकाले तत्काल रोक्न गाह्रो हुने जनप्रतिनिधिको भनाइ छ । बालविवाह मागेर र भागेर पनि हुने गरेका छन । यसले यस जिल्लामा अन्यत्र जस्तो दाइजोसँग सम्बन्धित घटना निकै कम हुन्छन ।
स्वास्थ्यमा समस्या
सानो उमेरमा विवाह गर्दा शारीरिक विकास नभइसकेकाले गर्भ तुहिने र सुत्केरी हुन अनावश्यक रूपमा अपरेसन गर्नुपर्ने बाध्यता हुने धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले बताए । ‘अपरेसन गरेर बच्चा जन्माउन जति सजिलो छ, वर्षौंसम्म संक्रमणबाट बच्न उत्तिकै समस्या हुन्छ,’ राजभण्डारीले भने, ‘प्रसूति समयमा रक्तस्राव बढेर ज्यान जाने खतरा पनि बढ्छ ।’ बालविवाह गरेकाहरूले लाज मानेर नियमित परीक्षण नगरेको राजभण्डारीको अध्ययन छ । खतरा बढेपछि मात्र अस्पताल पुग्दा बिरामीको ज्यानै जाने गर्छ ।
नियमित बिरामी भइरहने मानिसले आर्थिक र सामाजिक क्षेत्रमा पनि प्रगति गर्न नसक्ने उनले बताए । यसका साथै पढाइ छाड्ने, शिशु मृत्यु, गर्भपतन, बालिका आमाहरूको स्वास्थ्यमा असर, बहुविवाह, सम्बन्धविच्छेद, मानसिक विचलन, कम उमेरकी आमाबाट जन्मिएका बच्चा कमजोर हुनेजस्ता असर बालविवाहले हुने गरेको छ ।
सजाय यस्तो छ
संविधान र मुलुकी फौजदारी संहिता २०७४ ले बालविवाह गराउने अभिभावकलाई ३० हजार जरिवाना र ३ महिना कैदको सजाए तोकेको छ । ‘विवाह गर्नेलाई पनि कारबाही हुन्छ, बालबालिका भएकाले जेल नभई सुधारगृहमा राखिन्छ,’ अधिवक्ता राजु गौतमले भने, ‘बालविवाहको ठूलो कमजोरी अभिभावक सचेत नहुनु नै हो ।’ अभिभावकको मौन सहमतिमा विवाह हुने भएकाले जिल्ला प्रहरीमा अहिलेसम्म त्यस्ता उजुरी आएका छैनन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij