अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित

केदार मगर,खोटाङ । अलैँचीको भाउ ओरालो लागिरहेका बेला बोट नै सुक्न थालेपछि जिल्लाका अलैँची किसान निराश बनेका छन् ।

पात पहेँलो हुने, सुक्ने, कालो छिर्का लाग्ने, फुर्के हुने, गुभा कुहिनेजस्ता रोगले बोट नै सुक्न थालेपछि जिल्लाका अलैँची किसान निराश बनेका हुन् ।

यसअघि राम्रो उत्पादन हुँदै आएको जिल्लाका कतिपय किसानले लगाएको अलैँचीको बगान अहिले रोगले सुकेर सोत्तरजस्तै बनेको छ । विशेषगरी केपिलासगढी गाउँपालिकाको सुङ्देल, फेदी, खार्ताम्छा, बास्पानी, ऐंसेलुखर्क गाउँपालिकाको बाकाचोल, राखाबाङ्देल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, नेर्पा, दोर्पाचिउरीडाँडा, साकेला गाउँपालिकाको रतन्छा, बाँझेच्यानडाँडा, मात्तिम, खोटेहाङ गाउँपालिकाको सावाकटहरे, लिकुवापोखरी, इन्द्रेणीपोखरी, चिप्रिङ, जन्तेढुङ्गा गाउँपाालिकाको चिसापानी, डम्वर्खुशिवालयलगायत ठाउँमा लगाइएका अलैँचीमा रोग देखिएको हो ।

सबैभन्दा बढी जिल्लाको केपिलासगढी र ऐंसेलुखर्क गाउँपालिकाका उत्तरी क्षेत्रमा लगाइएको अलैँचीमा रोगको समस्या देखिएको अलैँची व्यवसायी सङ्घ खोटाङका अध्यक्ष वीरबहादुर तामाङले बताए । “धान, मकै, कोदो, गहुँलगायतका अन्नबाली तथा नगदेबाली उत्पादन हुँदै आएको उर्बर खेतबारी मासेर व्यावसायिक रुपमा अलैँचीखेती लगाइएको छ”, उनले भने, “केही वर्षयता देखिएको रोगका कारण अलैँची उत्पादनमा दोब्बर–तेब्बरका दरले उत्पादन घट्न थालेपछि दोधारमा परेका छौँ ।”

जिल्लामा २०६५ मा अलैँचीमा सामान्य समस्याका रुपमा देखा परेको पात सुक्ने, पातमा छिद्रा पर्ने, बोट पहेँलो हुने, बोट सुक्ने, मुना नआउने, खुम्ले किरा र पहेँलो कमिला लाग्नेलगायत समस्याले २०६७ पछि समस्या बढेको किसानको भनाइ छ । करीब दुई दशकदेखि अलैँची खेती हुँदै आएको उत्तरी क्षेत्रमा देखिएको समस्या पछिल्लो समय दक्षिणी क्षेत्रमा लगाइएको अलैँचीमा पनि देखा परेको छ ।

अन्य बालीको तुलनामा बढी आम्दानी लिन सकिने भएकाले केही दशकयता जिल्लाका कृषक अलैँचीतर्फ आकर्षित हुनेक्रम बढ्दो थियो तर, अलैँचीमा देखा परेको रोगको समाधान नभए अलैँचीको आम्दानी कथामा सीमित हुने अवस्था आएको छ ।

यसअघिसम्म भाउ घटे पनि जिल्लामा हरेक वर्ष अलैँची निकासीबाट करोडौँ रकम भित्रिने गरेको थियो । दश स्थानीय तह रहेको जिल्लामा कतिपय स्थानीय तहका एउटै वडाबाट करोडभन्दा बढीको अलैँची निकासी हुने गरेको थियो । अलैँचीमा रोग देखा परेपछि बिरुवा खरीद गर्ने किसानको सङ्ख्या समेत कम भएको एसेलुखर्क गाउँपालिकाका अगुवा कृषक किशोर राईले बताए । विगत दश वर्षदेखि अलैँचीलगायत विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका बेर्ना उत्पादन गरेर बिक्री गर्दै आउनुभएका राईको नायुमा कृषि तथा वन नर्सरीमा अहिले अलैँचीको बिरुवा हुर्किएर खेर जाने अवस्थामा पुगेको छ ।

अलैँचीका अगुवा किसानले भने प्राविधिक ज्ञान अभावले अलैँची बगानमा रोगको प्रकोप देखिएको बताएका छन् । हाल पश्चिम वा दक्षिण मोहडा फर्केको ठाउँमा रोपिएका र बलौटे माटोमा लगाइएका अलैँचीमा बढी समस्या देखिएको छ ।

भूगोलअनुसार अलैँचीको जात छनोटमा ज्ञान नहुँदा पनि अलैँचीमा समस्या निम्तिने गरेको अलैँचीका अगुवा किसानको अनुभव छ । लेकमा फल्ने अलैँचीलाई बेँसीमा रोप्दा वा बेँसीमा फल्ने अलैँचीलाई लेकमा लगाउँदा पनि अलैँची व्यवसाय नफष्टाउने गरेको खुप्तुङ कृषि फार्म इन्द्रेणी पोखरीका सञ्चालक इन्द्र नारथुङ्गेले बताए ।

जिल्लाका ३४ भन्दा बढी वडामा उत्पादन हुने अलैँची भोजपुर, धनकुटा, धरान र झापाको बिर्तामोड हुँदै भारत निकासी हुने गरेको छ । मसला, जडीबुटी तथा औषधिका रुपमा प्रयोग गरिने अलैँचीको खेती जिल्लाको ६४ वडाको एक हजार १५० हेक्टर क्षेत्रमा गर्न सकिनेछ ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology