प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६
काठमाडौं । २८६ को मध्यम लक्ष्य पछ्याएको इंग्ल्याण्डले खराब शुरुआत गरेको छ । अष्ट्रेलियाका कप्तान एरोन फिन्चले शतक बनाएपछि आईसीसी विश्व कपको मंगलबारको खेलमा घरेलु टिम इंग्ल्याण्डले २८६ रनको मध्यम लक्ष्य पाएको छ । इंग्ल्याण्डको लडर्समा टस जितेर इंग्ल्याण्डले अष्ट्रेलियालाई पहिला ब्याटिंगको निम्तो दिएको थियो ।
अष्ट्रेलियाका लागि कप्तान एरोन फिन्च र डेबिड वार्नरले उत्कृष्ट ब्याटिंग गर्दै अष्ट्रेलियालाई विशाल योगफलतर्फ अग्रसर गराए पनि स्लग ओभरमा अष्ट्रेलियाले राम्रो ब्याटिंग गर्न नसेपछि उसले ७ विकेटमा २८५ रनमात्र बनायो ।
फिन्चले १०० रन बनाए भने वार्नरले ५३ रन बनाए । यस्तै स्टेभन स्मिथ र एलेक्स कोरीले ३८–३८ रन बनाए ।
यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले ६ ओभरमा २६ रन बनाउँदा ३ विकेट गुमाएको छ । उसका जेम्स विन्स, जोय रुट र इअन मोर्गन आउट भएका छन् । मिचेल स्टार्कले २ विकेट लिँदै प्रतियोगितामा १७ विकेट पुर्याएका छन् । अर्का बलर जेसन बेहनफोर्डले पनि एक विकेट लिएका छन् ।
इंग्ल्याण्डका लागि क्रिस वोक्सले दुई विकेट लिए भने अन्य बलरले एक एक विकेट लिए । आदिल राशिद भने विकेटबिहीन भए । जारी प्रतियोगितामा मध्यम प्रदर्शन गरिरहेको इंग्ल्याण्डका लागि यो खेल जित्नैपर्ने दबाब छ । हाल ८ अंकसहित तालिकाको चौथो स्थानमा रहेको इंग्ल्याण्डले सेमिफाइनल पुग्न बाँकी रहेका तीन मध्ये दुई खेलमा जित निकाल्नै पर्ने दबाब छ ।
तर, इंग्ल्याण्डले मंगलबार अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ भने अब न्यूजिल्याण्ड र भारतसँग बाँकी छ । प्रतियोगितामा भारत र न्यूजिल्याण्ड हालसम्म अपराजित छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij