प्रकाशित मिति : बुधबार, असार ११, २०७६
अछाम। चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ। से१त ७८३९ नंको ट्र्याक्टर आज बिहानै दुर्घटना हुँदा तीनको मृत्यु र चार घाइते भएका हुन्।
मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए।
ट्र्याक्टर चालकले भने हामफालेर ज्यान जोगाएका छन्। अन्य चार घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।
बुबाको हत्या गर्नेलाई एक लाख जरिवाना, १० वर्ष कैद
आफ्नै बुबाको हत्या गर्ने एक व्यक्तिलाई १० वर्ष कैद तथा रु एक लाख जरिवाना भएको छ । बुबालाई दाउराको चिर्पटले हानेर हत्या गर्ने चौरपाटी गाउँपालिका–५ लुङ्ग्राका प्रेम ढोलीलाई अछाम जिल्ला अदालतले उक्त फैसला गरेको हो ।
कर्तव्य ज्यान कसुर मुद्दामा मङ्गलबार जिल्ला अदालत अछामले ढोलीलाई उक्त फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रेमले गत जेठ २९ गते राति घरमा बुबा मीने ढोलीलाई चिर्पटले हानेर हत्या गरेका थिए ।
यस्तै जबरजस्ती करणी उद्योग कसुरमा पञ्चदेवल विनायक नगरपालिका–९ का दीपेश भुल पुर्पक्षका लागि कारागार चलान भएका छन् । अछाम प्रहरीले परिवर्तित नाम (ज्ञानी) लाई जबर्जस्ती करणी गरेको अभियोगमा गत जेठ २४ गते पक्राउ गरेको थियो।
हिरासतमा रहेका उनलाई अछाम जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij