प्रकाशित मिति : शनिबार, असार १४, २०७६
लमजुङ। गण्डकी प्रदेशअन्तर्गत ३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका–४ घर भएका उनलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।
तत्कालीन इलाम पोखरी गाविस–५ र हाल उक्त गाउँपालिका–४ बस्ने कामीलाई जिल्ला अदालतबाट २०४८ माघ १३ गते जन्मकैदको फैसला भई सर्वोच्च अदालतले समेत सोही फैसला सदर गरेको प्रहरीले जनाएको छ। पक्राउ गरेका कामीलाई आइतबार अदालतमा लगेर केही प्रक्रिया मिलाएर जिल्ला कारागार लगिने प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुुरुङले बताए।
तत्कालीन इलाम गाविसमा बेदप्रसाद पोख्रेललाई धेरै पैसा ल्याएको आशङ्कामा कामी लगायतको पाँच जनाको टोलीले ढुङ्गाले हानेर कर्तव्य गरी मारेको थियो। उनको साथबाट नगद चार हजार लुटी पाँच जनाले बाँडीचुडी लिएका थिए। मृतकका दाजु कृष्णप्रसाद पोख्रेलले कामीसहित पाँचजना विरुद्ध जिल्ला अदालतमा २०४८ असोज १८ गते मुद्दा गरेका थिए। सोही समूहमा रहेका एक जनाले सजयाँ भोगिसकेका छन् भने बाँकी अझै तीनजना फरार रहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij