प्रकाशित मिति : आइतवार, असार २२, २०७६
काठमाडौं। यस पटकको विश्वकपमा कैयौं ठूला विश्वरेकर्डहरु तोडिए । उच्च फर्ममा रहेका केही खेलाडीहरु ठूला विश्वरेकर्ड ध्वस्त पार्दै अगाडि बढे । अब सचिन तेन्दुलकरको अर्को एउटा विशाल विश्वरेकर्ड तोडिने अवस्थामा छ । तेन्दुलकरको नाममा एउटै विश्वकपमा सर्वाधिक रन बनाएको विश्वरेकर्ड छ ।
अहिलेसम्म एउटै विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान सचिन तेन्दुलकरले २००३ को विश्वकपमा ६७३ रन बनाउँदै यो रेकर्ड बनाएका थिए । उनीपछि दोस्रो स्थानमा अस्ट्रेलियाका म्याथ्यु हेडन छन् । हेडनले २००७ को विश्वकपमा ६५९ रन बनाएका थिए । हेडनले भने सन्यास लिइसकेका छन् ।
जारी विश्वकपमा तेन्दुलकरको यो १६ वर्ष पुरानो रेकर्ड तोड्न भारतकै रोहित शर्मा र अस्ट्रेलियाका डेभिड वार्नर तयार छन् । रोहितले यो विश्वकपमा ६४७ रन बनाइसकेका छन् भने वार्नरले ६३८ रन बनाइसकेका छन् । यी दुवैले फाइनल नपुगे पनि सेमिफाइनलमा कम्तीमा एक खेल अझै खेल्दैछन् । त्यो खेलमा रोहितले २७ रन बनाएमा तेन्दुलकरको रेकर्ड तोडिनेछ भने वार्नरले पनि ३६ रन बनाएमा तेन्दुलकरलाई उछिन्नेछन् ।
सेमिफाइनलमा भारत न्यूजिल्याण्डसँग खेल्दैछ र अस्ट्रेलिया इङल्याण्डसँग खेल्दैछ । पछिल्लो समय यी दुवै खेलाडी उच्च फर्ममा छन् । हिजोको खेलमा यी दुवैले शतक बनाएका थिए । उच्च फर्ममा रहेका यी दुवैले तेन्दुलकरलाई पछि पार्ने सम्भावना बलियो छ तर यी दुवैबीच पनि विश्वरेकर्डको लागि प्रतिस्पर्धा छ । एक अर्कासँगको प्रतिस्पर्धामा कसले कसलाई पछि पार्ने हो भन्ने धेरै फ्यानको चासोको विषय बनेको छ । अहिलेसम्म वार्नर रोहितभन्दा मात्रै ९ रनले पछि भएकोले यी दुईबीचको प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij