प्रकाशित मिति : आइतवार, असार २२, २०७६
मुगु । मुगुका विभिन्न पाटनहरुमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलकहरुको अब जीवन बिमा गरिने भएको छ । मुगुस्थित मुगुम कार्मारोेङ्ग गाँउपालिकाले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमको यो विषय समेटिएको हो ।
शुक्रबार आफ्नो पाँचौ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाँउपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले यार्सा संकलकहरुबाट पाटन प्रवेश शुल्कवापत वर्षेनी लाखौ शुल्क उठाउँदै आए पनि उनीहरुबारे केहि नसोचेको र पाटनमा उनीहरुको कुनै दुर्घटना भएमा उ मात्र नभएर उमाथि आश्रित सबै परिवारको विचल्ली हुने भएकाले नीति तथा कार्यक्रममा जीवन विमा समेटेको बताए ।
पाटनहरुमा वर्षेनी दजनौ संकलकको मृत्यु हुने र त्यती कै संख्यामा विरामी अपाङ्ग हुने गरेका छन् । यार्सा संकलन समयभन्दा एक महिना अगावै गाँउपालिकाको यो विषय हेर्ने फाँटमा संकलकले नाम दर्ता गर्नुपर्ने र प्रवेश शुल्क उठाउदा विमांक रकम पनि काटिने व्यवस्था मिलाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
जीवन विमा गर्ने विमा कम्पनीसंगको सहकार्यमा गाँउपालिकाले यो अभियान अघि बढाउने र सार्वजनिक सूचना गरेर विमा कम्पनी छनौट गरिने भएको छ ।
यार्सा संकलन गर्न जिल्ला भित्र र बाहिरबाट यो बर्ष १० हजार बढी संकलकहरु पाटनमा प्रवेश गरेका छन् । यो वर्ष प्रवेश शूल्कवापत गाँउपालिकाले ९० लाख शुल्क उठाएको थियो ।
प्रवेश शुल्क मात्र लिने संकलकहरुको सुविधाबारे गाँउपालिका मौन रहेको आवाज उठदै आएकाले नगरसभाले संकलकहरुको पक्षमा रहेर जीवन विमाबारे व्यवस्था गरेको र बजेटमा पनि यो विषय समेटर आगामी बर्षबाट कार्यान्वयनमा ल्याइने प्रमुख प्रशासकिय अधिकृत विकास रिजालले बताए ।
गाँउपालिकाले प्रस्तुत गरि सर्वसम्मत पारित समेत गरेको यो प्रावधानको सबै तिर प्रशंसा भएको छ ।
शुक्रबारबाट शुरु भएको गाँउसभा शनिबार नीति तथा कार्यक्रम पास गर्दै बजेट छलफलमा प्रवेश गरेको पनि गाँउपालिकाले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij