प्रकाशित मिति : बुधबार, असार २५, २०७६
काठमाडौं । आफुलाई धर्ती माताका रुपमा चिनाउने महिला विष्णु कुँवर मंगलबार जिल्ला अदालत काठमाडौंमा २० हजार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १० हजार रुपैयाँ धरौटी बुझाएर थुना मुक्त भएकी छन् ।
राजधानी काठमाडौंको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धान गरेर जिल्ला अदालत र जिल्ला प्रशासनमा जिल्ला सरकारी वकील कार्यालयमाफर्त मुद्दा चलाएको काठमाडौंमा प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द बोगटीले बताए ।
उनका अनुसार जिल्ला अदालत काठमाडौंमा कुँवरमाथि अपमान मुद्दा चलाइएको थियो भने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारको मुद्दा चलाइएको थियो ।
दुबै मुद्दामा उनलाई धरौटीमा छाड्न आदेश भएको हो ।
जिल्ला अदालत, काठमाडौंले २० हजार र जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी मागेको हो।
काठमाडौं प्रहरी परिसरको विशेष टोलीले उनलाई १३ असारमा बालाजुबाट पक्राउ गरेको थियो । पक्राउ गरेको भोलीपल्ट असार १४ मा प्रहरीले कुँवरलाई सार्वजनिक गर्ने भनिए पनि हिरासतमै उनीमाथि ‘देवी चढेको’ भन्दै प्रहरीले सार्वजनिक गर्न सकेको थिएन ।
उनले सर्वसाधारणको भिडका बिच युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वत्र चासो बढेको थियो । घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गर्न थालेपछि उनी पक्राउ परेकी थिइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij