सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

रानी–जमरा मूल नहरको परीक्षण

  • प्रकाशित मिति : बुधबार, साउन १, २०७६



  • धनगढी । कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको मूल नहरमा परीक्षणको रुपमा पानी पठाउन शुरु गरिएको छ ।

    जिल्लाको पूर्वी सीमा कर्णाली नदी छेउको चिसापानीमा निर्माण भएको आयोजनाको मुहान (इन्टेक)का आठ वटा पानी नियन्त्रण गर्ने ढोकामध्ये तीन वटा ढोकाबाट परीक्षणका रुपमा मङ्गलबार पानी सञ्चालन गरिएको छ । आठ वटा ढोकामध्ये पाँच वटामा भने ‘वैस्टिङ’ (गेट उचाल्ने र बन्द गर्ने उपकरण) जडानको काम जारी रहेको छ ।

    “मूल नहरमा परीक्षणका रुपमा पानी सञ्चालन गर्‍यौँ”, आयोजना प्रमुख मधुकर रानामगरले भने, “मुहानबाट मूल नहरमा पानी चलाए पनि दक्षिणतर्फको फिडर नहरमा विद्युत् आयोजना निर्माणाधीन हुँदा छोडिएको पानी परम्परागत कुलोमा नै पठाएका छौँ ।”

    आयोजनाको मुहानमा स्वचालित प्रणालीबाट चाहेको समयमा पानी छोड्ने र बन्द गर्ने उपकरण जडानको काम निकट भविष्यमा सम्पन्न हुने जनाइएको छ । इन्टेकबाट पश्चिमतर्फ जाने आठ दशमलव आठ किलोमिटर मूल नहरको निर्माणको काम पूरा भइसकेको छ ।

    मूल नहरको दक्षिणतर्फको सहायक नहर दश दशमलव ५० किलोमिटर लामो छ । यस्तै लम्कीतर्फको विस्तार नहर १४ दशमलव सात किलोमिटर लामो रहेकामा छ किलोमिटर लामो पक्की नहर निर्माण भइसकेको छ ।

    लम्की विस्तारतर्फको बाँकी भागमा मानव बस्ती रहेकाले सो क्षेत्रमा जग्गाको मुआब्जा वितरणको काम शुरु गरिएको छ । लम्की विस्तार नहरतर्फ पश्चिमको पथरैया नदीसम्म (कूल १४ दशमलव सात किलोमिटर) निर्माण गरिने लक्ष्य छ ।

    दक्षिणतर्फको फिडर नहरमध्ये रानीको इन्टेकसम्मको नहर निर्माण पूरा भएको छ । दक्षिणतर्फको फिडर नहरको भागमा निर्माणाधीन चार दशमलव ७१ मेगावाटको विद्युत् आयोजना चालू वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ ।

    विश्व बैंकको ऋण सहयोग, नेपाल सरकारको लागत र जनश्रमदान समेतबाट विसं २०६६ देखि निर्माण शुरु गरिएको यो आयोजनाको पहिलो चरणको निर्माणको काम आर्थिक वर्ष २०७४÷७५ मा पूरा भई आव २०७५÷७६ बाट दोस्रो चरणको काम शुरु भएको हो ।

    आयोजना निर्माणको काम आगामी चार वर्षपछि सन् २०२३ मा पूरा गर्ने लक्ष्य लिइएको छ । शुरुको अवस्थामा यो आयोजना आव २०७३÷७४ सम्म निर्माण पूरा गर्ने लक्ष्य लिइएको थियो । मूल नहरको रेखाङ्कनमा परेको मुक्तकमैया बस्तीको स्थानान्तरण, रुख कटानीको प्रक्रियामा भएको ढिलाइलगायतका कारण आयोजना सम्पन्न हुन ढिलाइ भएको हो ।

    आयोजनाको निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र आसपासका झण्डै २० हजार ३०० हेक्टर जग्गामा सिंचाइ सुविधा पुग्ने बताइएको छ । आयोजना निर्माणसँगै जिल्लाको पूर्वी क्षेत्रमा कृषि उत्पादन वृद्धिसम्बन्धी विभिन्न क्रियाकलापसमेत भइरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij