प्रकाशित मिति : सोमवार, साउन ६, २०७६
दबंग फिल्मबाट बलिउडमा कदम राख्ने सोनाक्षी सिन्हा पहिलो पटक सेक्स कमेडी फिल्म ‘खानदानी शफाखाना’ मा देखिनेछिन् ।
धेरैजसो पारिवारिक फिल्ममा देखिने सोनाक्षी यस्ता विषयमा आधारित फिल्मबाट बच्ने गर्थिन् ।
खानदानी शफाखाना फिल्ममा सोनाक्षी सिन्हा बेबी बेदीको भूमिका निभाइरहेकी छिन् जसले पैतृक सम्पत्तिको रुपमा मामाको विशेष ‘शफाखाना’ चलाउने जिम्मेवारी पाउँछिन् ।
उक्त ‘शफाखाना’ मा मानिसहरु यौनसम्बन्धि समस्याको उपचार गर्न आउँछन् ।
बीबीसीसँगको कुराकानीमा सोनाक्षीले भनिन्, ‘म सोच्थेँ कि सेक्सजस्तो विषय छ भने म के गर्ने होला ? म सोनाक्षी सिन्हा पारिवारिक फिल्म मात्र खेल्छु । मेरो आमा–बुवाले के भन्नुहोला ? जब मैले फिल्मको स्क्रिप्ट पढेँ तब मलाई यो फिल्ममा अभिनय गर्न भित्रदेखि नै रुची जाग्यो । यो एउटा यस्तो फिल्म हो जसले आजको समय बताउँछ ।’
सोनाक्षी मान्छिन् कि भारतमा आज पनि यौनसम्बन्धि कुरा गर्न कठिन छ । यसबारे मानिसहरु कुरा गर्न हिच्किचाउँछन् जबकी कुरा गर्दा नराम्रो सोच्नु हुँदैन ।
‘जब रुघा–खोकी, ज्वारोका लागि तपाईं डाक्टरकोमा जानुहुन्छ भने यौन सम्बन्धि रोगबारे किन कुरा गर्नु हुँदैन ? यो जागरुकता ल्याउन आवश्यक छ ।’
पारिवारिक फिल्म हो ‘खानदानी शफाखाना ?’
सोनाक्षी सिन्हा मान्छिन् कि जागरुकता ल्याउनका लागि यो विषयलाई विद्यालयको पठ्यक्रममा समावेश गर्नुपर्छ ।
उनी भन्छिन्, ‘यदि बच्चाहरुलाई यसबारे जानकारी दिइएन भने उनीहरुले गलत माध्यमबाट यसबारे थाहा पाउन खोज्छन् । बच्चासँग यो विषयमा कुरा गर्न आमा–बुवा अप्ठेरो मान्छन् । अब बुझ्नुपर्ने कुरा यो हो कि यो लज्जाको विषय होइन । ’
कहिले पनि सेक्सबारे आमा–बुवासँग कुरा नगरेको व्यक्तिमा आफू पनि पर्ने सोनाक्षीले बताइन् । स्कूल र कलेजका दिनमा साथीहरुमार्फत् यसबारे जानकारी पाएको बताइन् ।
के यो फिल्म परिवारसँग बसेर हेर्न सकिन्छ ? यो प्रश्नको जवाफमा उनले भनिन्, ‘म यो स्पष्ट पार्न चाहन्छु कि यो फिल्म पारिवारिक हो जसलाई बच्चा–वृद्ध सबैसँग बसेर हेर्न सकिन्छ ।’
उनी फिल्मकी निर्देशक शिल्पी दासगुप्तालाई श्रेय दिँदै भन्छिन्, ‘एक महिला निर्देशक भएको नाताले उनले गम्भीर तरिकाले यो विषयलाई सम्हालेकी छिन् जो एक पुरुष निर्देशकले गर्न सक्दैनथे ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij